निजामति सेवा दिवसका अवसरमा ताप्लेजुङ विविध कार्यक्रम सम्पन्न,बिजेतालाई पुरस्कार र प्रमाणपत्र बितरण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २२ । निजामति सेवा दिवसको अवसरमा आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रभातफेरी,शुभकामना आदान–प्रदान तथा पुरस्कार र प्रमाणपत्र बितरण कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरी हेलिप्याडगेट–तोक्मेडाँडा–दोबाटो–जिमीपोखरी टोल हुँदै वीरेन्द्रचौकबाट सामुदायिक भवन सिटीहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,जिल्ला न्यायाधीस विकास श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँसहितले निजामति सेवा दिवस र निजामति सेवामा आवद्धहरुले खेल्नुपर्ने भूमिका बारे बोल्नु भएको थियो ।
आयोजक कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले यसबर्षको निजामति सेवा दिवसको कार्यक्रम दुईदिन भव्य रुपमा सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँले दिवससंगै राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहलाई चुस्त,शीघ्र,जनमैत्री,विश्वसनीय,सुशासनले भरिपूर्ण र समय सापेक्ष सेवा प्रदान गर्नमा प्रतिबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो् ।
निजामति सेवा दिवसको अवसरमा शनिवार भएका विविध कार्यक्रममा बिजेता तथा सहभागी टिम र प्रतियोगीलाई पुरस्कृत समेत गरिएको थियो । हाजिरी जवाफतर्फ प्रथम हुने पाथीभरा याङवरक,द्धितीय हुने सिरिजङ्गा गाउँपालिका र तृतीय हुने मालपोत कार्यालयलाई क्रमशः५ हजार,३ हजार र २ हजार रुपैयाँका साथ प्रमाणपत्र प्रदान गरिएको छ । हाँडी फुटाईतर्फका बिजेता नेपाल प्रहरीका बिजयकुमार शाहले नगद २ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउनु भएको छ ।
निजामति सेवा दिवसकै अवसरमा आयोजित कर्मचारी–११ र जनप्रतिनिधि –११ बिचको मैत्रीपूर्ण फुटबलमा बिजेता तथा उपविजेता भएका खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल बितरण गरिएको छ । मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि –११ माथि कर्मचारी–११ को टिम २–० गोल अन्तरले बिजयी भएको थियो । बिजयी टिमका लागि सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक र सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीले १–१ गोल गर्नु भएको थियो । बिजेता टिमका लागि मिलन केन्द्रले खसी उपहार राखेको थियो ।