ताप्लेजुङमा गुणस्तरीय कफी बनाउने तरिका सिकाउन कफी तालिम केन्द्र स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १६ । स्व–उद्यममा संलग्न हुने तथा बैदेशिक रोजगारीमा जाँदा सीप चाहिने प्रकृतिका व्यक्तिलाई लक्षित गरी ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘ब्रिहब कफी तालिम केन्द्र’स्थापना भई सञ्चालनमा आएको छ ।
तालिम केन्द्रका मुख्य सञ्चालक दीपेश गुरुङका अनुुसार गुणस्तरीय कफीको बिक्री,गुणस्तरीय कफी संकलन तथा कफी बनाउने तरिका बारे सीप हस्तान्तरण सहितका लक्ष्य राखी तालिम केन्द्र स्थापना गरिएको हो । वीरेन्द्रचौकस्थित मानव डेन्टल अस्पताल र बुङकुलुङ डेरी उद्योगकोबिच भागबाट हुलाक लाइनतर्फ झर्ने बाटोको मुख्य सडकको केन्द्रमै तालिम केन्द्र सञ्चालनमा आएको छ । सोमवारबाट सुरु भएको तालिमको पहिलो दिन १३ जनाले तालिमका लागि नाम लेखाएको र अरु नामदर्ताको प्रकृया सुरु गरिएको केन्द्रका सञ्चालक गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार कफी बनाउने तथा बिक्री स्थलमै लैजाने तरिका बारे ४० दिनको सिकाई कक्षा निर्धारण गरिएको छ । यो अवधि भनेको सैद्धान्तिक र व्यवहारिक ज्ञान दुबै दिने समय हो । ४० दिनमा दिनको दुई घण्टाको दरले कक्षा सञ्चालन गरी सैद्धान्तिक तथा व्यवहारिक सीप हस्तान्तरण गरिने गुरुङले जानकारी दिनुभयो । तालिममा कफीको रोष्टरिङ बिधि समेत सिकाउने गरिन्छ । बिदेशमा समेत कफी सम्वन्धी सीपको आवश्यकता महशुष भएको तथा नेपालमा पछिल्ला दिनहरुम कफी प्रेमीहरुको संख्या बृद्धि हुँदै गएकोले गुणस्तरीय कफी बनाउने बिभिन्न तरिकाका बारेमा जानकारी दिन तालिम केन्द्र सञ्चालनमा ल्याईएको सञ्चालक गुरुङले बताउनुभयो ।