दोस्रो तिम्बुङ पोखरी ट्रेल रन भदौ २६ गते,पुरस्कार राशीमा बृद्धि,दौड दुरी पनि बढाईयो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । यही भदौ २६ गते हुने दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा साविक भन्दा दौड क्षेत्रको दुरी र पुरस्कार राशी दुबैमा बृद्धि गरिएको हो ।

तिम्बुङ पोखरी संरक्षण तथा संवद्र्धन समितिले आयोजना गर्ने ट्रेल रन प्रतियोगिताका बारेमा शुक्रवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं कार्यक्रम संयोजक अमिर राईले पदमचाल अर्थात् केञ्जोको ‘हव’तिम्बुङ पोखरी क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रन प्रतियोगितालाई निरन्तरता दिईएको जानकारी दिनुभयो । प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८१ साल भदौ २६ गते नै भएको थियो । तिम्बुङ पोखरी पदमचाल अर्थात् केञ्जोको राजधानी मानिएको र भदौ महिनामै केञ्जोको आर्कषणमा बढी हुने भएकोले उक्त समयमै तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना गरिएको राईले बताउनुभयो ।

४ हजार ३ सय ५० मिटर उचाईको पोखरी क्षेत्रबाट हुने ट्रेल रन प्रतियोगिता ३ हजार ८ सय मिटर उचाईको पाङदुवामा झरी फेरि ४ हजार २ सय मिटर उचाईको ठूलो भञ्ज्याङमा आएर दौड दुरी पूरा हुने छ । पोखरी क्षेत्रबाट पाङदुवामा झरी फेरि ठूलो भञ्ज्याङ उक्लदा दौडको दुरी करिव १५ किलोमिटर हुने छ । प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा अघिल्लो बर्ष ७.८ किमी दुरी रहेको थियो ।

राईका अनुसार यसबर्ष खुल्लातर्फ प्रथम,द्धितीय र तृतीय हुनेले नगद ५० हजार,३५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ भने प्रथम हुनेलाई मात्र पुरस्कार दिईने भएको छ । महिलातर्फका बिजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्थानीयतर्फ (सिदिङ्वा गाउँपालिका भित्रका)प्रथम हुनेलाई नगद १५ हजार सहित पुरस्कार पाउने सबैलाई ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।

तिम्बुङ पोखरी संरक्षण तथा संवद्र्धन समितिले यसबर्षबाट तिम्बुङ पोखरी सहितका पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनमा योगदान पु¥याउने एक पत्रकारलाई नगद २५ हजार रुपैयाँ सहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । यो पुरस्कार ताप्लेजुङ र पाँचथरका पत्रकार केन्द्रित हुने राईले जानकारी दिनुभयो ।

राईका अनुसार प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता पछि २०८१ सालभरीमा करिव ३ हजार मानिसले तिम्बुङ पोखरीको अवलोकन गरेका छन् । सो भन्दा अघि यति दर्शनार्थी तिम्बुङ पोखरीमा नपुगेको राईले दावी गर्नुभयो । उहाँका अनुसार ट्रेल रन प्रतियोगिता कार्यक्रमका लागि भदौ २२ गते कालिखोला पुग्ने,२३ गते नुनथलामा बास बस्ने,२४ गते ठूलो भञ्ज्याङ पुगेर बासबस्ने,२५ गते तिम्बुङ पोखरी दर्शन गरी नजिकै रहेको भारत सिक्कीमको लक्ष्मी पोखरी दर्शन गरी ठूलो भञ्ज्याङमा बास बस्न आउने र २६ गते ट्रेल रन प्रतियोगिता गरी कार्यक्रम समापन हुने छ । प्रतियोगिताको उद्घाटन र समापनको कार्यक्रम ठूलो भञ्ज्याङमा हुने समेत उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संस्थाले बताएको छ । कुल लागतमध्ये सिदिङ्वा गाउँपालिकाले ११ लाख पर्यटन कार्यालय काकडभिट्टाले ५ लाख रुपैयाँ लागत भार व्यहोर्ने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका वडाध्यक्ष गोपाल बानियाँले तिम्बुङ पोखरीको विकास,प्रवद्र्धन र सम्मुनतीका लागि सिदिङ्वा गाउँपालिकाकोतर्फबाट गरिएका प्रयास बारे अवगत गराउनु भएको थियो ।

Similar Posts