अब ताप्लेजुङको तेल्लोकमा पनि थाइराइड जाँच हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा पनि थाइराइड सम्वन्धी जाँच हुने भएको छ ।

तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख(मेडिकल अधिकृत)डाक्टर उज्वल कर्णका अनुसार भदौ १५ गतेदेखि हप्ताको मंगलवार र बुधवार दुईदिन थाइराइड सम्वन्धी जाँच गरिने छ । प्राथमिक स्वास्थ्य केन्द्रले यसअघि बितरण भईरहेका सेवामा थाइराइड सम्वन्धी जाँच सेवा समेत थप गरी प्रवाह हुने जनाएको छ । ताप्लेजुङ सदरमुकाम बाहेक थाइराइड सम्वन्धी जाँच अब तेल्लोकबाट समेत हुन लागेको हो । सिरिजङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सञ्जिव सिंहले थाइराइड सम्वन्धी जाँच सेवा समेत सुरु हुनु पालिकाका सेवाग्राहीका लागि गौरव र लाभको बिषय भएको बताउनुभयो । सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो । धेरैले यसलाई नयाँ रोगको रूपमा लिन्छन् ।

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो एउटा सानो पुतली आकारको अङ्ग हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तसर्थ सजिलोका लागि थाइराइड ड्राइभर हो भने हाम्रो अन्य अङ्ग मोटर हो । थाइराइड हाम्रो शरीरको अत्यन्तै महत्वपूर्ण अङ्ग हो । थाइराइड घट्ने र बढ्ने हुन्छ । थाइराइड ग्रन्थी धेरै चलाइयो भने हाइपर थाइराइड हुन्छ भने थाइराइडले गर्नुपर्ने भन्दा कम काम ग–यो भने हाइपो थाइराइड हुन्छ । हाइपर थाइराइड भयो भने मान्छे दुब्लाउँछ र हाइपो थाइराइड भयो भने मान्छे मोटाउँछ ।

हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ । यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । कहिलेकाहीँ रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइडका कारण हर्मोनको गडबढी देखिन्छ । तर,केही समयपछि यो समस्या आफैँ निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेसनको औषधिका कारण पनि थाइराइडको समस्या हुने गरेको छ । नेपालमा थाइराइडका कारण महिलालाई बढी समस्या देखिने गरेको छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको पाइएको हो । महिला र पुरुषको अनुपातमा हेर्दा १० जना महिलामा देखिएमा एकजना पुरुषमा देखिन्छ ।

Similar Posts