सञ्चार बिधयेक बिरुद्ध पत्रकारद्धारा प्रशासनमा धर्ना

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १२ । कोशी प्रदेश आम सञ्चार बिधयेकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान हटाउनुपर्ने माग गर्दै ताप्लेजुङका पत्रकारले बिहीबार जिल्ला प्रशासन कार्यालयमा एकघण्टा धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत ताप्लेजुङका पत्रकारको सन्देश कोशी प्रदेश सरकारसम्म पुगोस् भन्ने हेतुले धर्ना दिईएको नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बताउनुभयो । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले बिधयेकका बारेमा अहिलेसम्म कोशी प्रदेशका पत्रकारले राख्दै आएका सुझाव,गुनासा र आन्दोलनसम्मको अवस्थाको ज्ञान लिएर प्रदेश सरकारले आम सञ्चार बिधयेकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकार पत्रकारका गुनासाको सम्बोधन नगरी अघि बढ्न प्रयत्न गरे अधिकार सुरक्षाका लागि पत्रकारले थप सशक्त भएर आन्दोलन गर्नुको विकल्प नहुने आचार्यको भनाई थियो ।

धर्ना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,पूर्व जिल्ला अध्यक्षद्धय खगेन्द्र अधिकारी र केशवप्रसाद भट्टराईसहित शाखाका पदाधिकारी,सदस्य र बिभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारको सहभागिता रहेको थियो । आन्दोलन अन्तरगत बुधवार ताप्लेजुङका पत्रकारले यहाँबाट कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यत्रय खगेनसिं हाङगाम,तिलकुमार मेन्याङ्वो र निर्मला तावालाई कोशी प्रदेश आम सञ्चार बिधयेकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान हटाउन भूमिका खेल्नुपर्ने र सदनबाट बिद्यमान बिधयेक जस्तातस्तै पारित गर्न दिन नहुने मोवाइल सन्देश पठाएका थिए ।

Similar Posts