ताप्लेजुङ गोल्डकपः सलहेस युवा क्लब फाइनल प्रवेश

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २९ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युवा क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापाको रेड स्टार फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सलहेस युवा क्लब फाइनलमा पुगेको हो ।
सलहेशको जितका लागि विदेशी मुलका खेलाडी युसुफ मलिकले खेल सुरु भएको १३ औं मिनेटमा पहिलो गोल गर्नुभएको थियो । त्यस्तै खेलको मध्यान्तरपछिको ४८ औं मिनेटमा मलिकले नै अर्को गोल थप्नुभयो । खेल अवधिभर गोल फर्काउने अधिक प्रयास गरे रेड स्टार झापा सफल बन्न सकेन । रेड स्टारले सेमिफाइनलमा हार बेहोरेसँगै फाइनलमा पुग्न नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको छ । बिहीबारको खेलमा सर्वश्रेष्ठ खेलाडी बन्दै युसुफ मलिकले सात हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ ।
यता सेमिफाइनल खेल जितेसँगै सलहेसले चर्च ब्वाइज क्लब ललितपुरसँगको फाइनल भिडन्त पक्का गरेको छ । चर्च ब्वाइज भने बुधबार भएको पहिलो सेमिफाइनलमा सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । सेमिफाइनलमा चर्च ब्वाइज र द योङ ब्रदर्स क्लबले निर्धारित समयावधिमा बराबरी एक–एक गोल गरेका थिए । अब प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।
लाखेजात्राको अवसरमा खेलाइएको यसवर्षको प्रतियोगितामा आयोजक टोलीका तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबसहित आठ टोली सहभागी भएका थिए । प्रतियोगितामा आयोजक तेल्लोक स्पोर्टिङ क्बल, फिदिम स्पोर्टिङ क्लब पाँचथर, साहारा क्लब पोखरा र अन्तर्राष्ट्रिय पाहुना टोली भारतको लिजेन्ट फुटबल एकेडेमी सिलिगुढी क्वार्टरफाइनल चरणको खेलबाटै बाहिरिएका छन् ।
यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । यसवर्ष प्रतियोगितामा सबोत्कृष्ट हुने खेलाडीले १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । लाखेजात्राको अवसरमा आयोजना गरिँदै आएको प्रतियोगिता साउन २४ गतेदेखि सुरु भएको थियो ।

Similar Posts