| |

इटहरीको द योङ ब्रदर्स क्लबको विजयी सुरुवात

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २४ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा द योङ ब्रदर्स क्लब इटहरीले विजयी सुरुवात गरेको छ । आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ को गोलअन्तरले पराजित गर्दै इटहरीले विजयी सुरुवात गरेको हो ।
खेलमा सुरुवाती अग्रता लिएको तेल्लोक स्पोर्टिङ क्लबले थप गोल गर्न नसकेपछि हार बेहोर्नु परेको छ । उद्घाटन खेलमा जितका लागि इटहरीले खेलको मध्यान्तरपछि दुई गोल गरेको थियो । तेल्लोक स्पोर्टिङ क्लबमाथि गरेको उक्त दुई गोल नै इटहरीको जितका लागि पर्याप्त बनेको छ ।
दुई जना विदेशी मूलका खेलाडीसाथ मैदान उत्रेको आयोजक टोलीले एक गोल गर्दै लिएको सुरुवाती अग्रतालाई बचाउन र थप गोल गर्न नसक्दा उद्घाटन खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको छ । पहिलो अर्थात उद्घाटन खेलमा विजेता बनेको इटहरी भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा आइतबार हुने दोस्रो खेल साहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबिच हुने छ । यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गर्ने छ ।
प्रतियोगितामा सबोत्कृष्ट छनोट हुने खेलाडीले यसवर्ष १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल पनि प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । यही साउन ३१ गते शनिबार सम्पन्न हुने प्रतियोगितामा भारत, सिलगुढीको लेजण्ड फुटबल एकेडेमीसहित आठ टोली सहभागी भएका छन् । यता प्रतियोगिताको उद्घाटनमा सिंगी नृत्यसहित च्याब्रुङ नाच, लाखे नाच, चण्डी नाच, तामाङ सेलो लगायतका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

Similar Posts