ताप्लेजुङमा रोपाइँ हुन बाँकी अझै २७ प्रतिशत

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २१ । जेठ महिनाको दोस्रो सातापछिदेखि नै रोपाइँ सुरु हुने ताप्लेजुङमा अझै करिव सत्ताइस प्रतिशत रोपाइँ गर्न बाँकी रहेको छ । पर्याप्त वर्षा नभएका कारण रोपाइँ सकिने समय भइसक्दा पनि अझै २६.७१ प्रतिशत रोपाइँ हुन बाँकी रहेको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार हालसम्म जिल्लामा कुल ७३.२९ प्रतिशत मात्र रोपाइँ सकिएको छ । हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठ महिनादेखि नै रोपाइँ गर्न सुरु गरिन्छ । यसवर्ष पर्याप्त वर्षा नभएकै कारण किसानले समयमा रोपाइँ गर्न नपाएका कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि प्रसार अधिकृत श्रेष्ठका अनुसार गतवर्ष साउन महिनाको तेस्रो साता सम्ममा ९६.५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गतवर्षको तुलनामा यो वर्ष सोही अवधिसम्म २३.२१ प्रतिशत कम रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको अधिकांश धान खेती हुने क्षेत्र आकाशे पानीको भर पर्नुपर्ने भएकाले पर्याप्त वर्षा नभएकै कारण यसवर्ष समयमा रोपाइँ हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइ गर्न कुलो सञ्चालन हुने क्षेत्रमा मात्र समयमा रोपाइँ भएको छ । हालसम्म रोपाइँ नभएको जिल्लाको माथिल्लो भेगका खेतहरुमा अब वर्षा भए पनि रोपाइँ नहुने स्थानीय किसान बताउँछन् । माथिल्लो भेगका लागि रोपाइँ गर्न ढिलो भइनसकेकाले बाँकी रहेको क्षेत्र (खेत) बाँझिएको किसानको भनाइ छ । किसानका अनुसार तल्लो भेग अर्थात औल क्षेत्रमा भने साउनभर रोपाइँ गर्ने गरिन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार ताप्लेजुङमा कुल पाँच हजार ६६६.३२ प्रतिशतमा धान खेती गर्ने गरिन्छ । यहाँका किसानले बेलगुटी, भँगेरे, अट्टे, मनिपुरेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन् । यस्तै सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धान खेतीसमेत लगाउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।