लम्पि स्किनको संक्रमणबाट ताप्लेजुङमा दुई पशुचौपाया मरे,७ स्थानीय तहका ५४ पशबस्तुमा संक्रमण पुष्टी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । ताप्लेजुङमा लम्पि स्किनको संक्रमणबाट दुई पशु चौपाया मरेका छन् ।

५४ वटा पशुमा लम्पि स्किनको संक्रमण देखा परेकोमा २ वटा पशु चौपाया मरेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सिदिङ्वा गाउँपालिकामा १ र मेरिङदेन गाउँपालिकामा १ गरी लम्पि स्किनको संक्रमणबाट २ वटा गाई मरेका छन् । दाहालका अनुसार अहिलेसम्म मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाका पशुमा मात्र लम्पि स्किनको संक्रमण देखा परेको छैन । सुरुका दिनमा मैवाखोला सहित मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाका पशु चौपायामा समेत लम्पि स्किनको संक्रमण देखा नपरेकोमा पछिल्लो समयमा गरिएको परीक्षणका क्रममा मैवाखोलाका २ पशु चौपायमा लम्पि स्किनको संक्रमण देखा परेको छ । यो सहित ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहका पशु चौपायामा लम्पि स्किनको संक्रमण देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।

विज्ञ केन्द्रका प्रमुख डाक्टर दाहालका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाका १९ पशुबस्तुमा लम्पि स्किनको संक्रमण पुष्टी भएको छ । यस्तै सिदिङ्वा गाउँपालिकाका २,मेरिङदेनका १२,सिरिजङ्गाका ९,फक्ताङलुङका २ र आठराई त्रिबेणीका ८ पशुबस्तुमा लम्पि स्किनको संक्रमण पुष्टी भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर दाहालका अनुसार सुरुमा फुङलिङ नगरपालिकाको वडा नं १० फुरुम्बु र वडा नं ७ र ८ दोखुको लम्पि स्किन सम्वन्धी संक्रमणका लक्षण देखिएका थिए । उहाँका अनुसार सम्वन्धित स्थानीय तह,भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत जहाँ लम्पि स्किनको संक्रमण भेटिएको छ,त्यसलाई त्यही सिमित गरी थप बढ्न नदिनेगरी रोकथामका रणनीति अख्तियार गरिएको छ । अहिलेसम्म ५ हजार ३ सय ५० डोज लम्पि स्किनको संक्रमण बिरुद्धको खोप प्रदान भइसकेको समेत डाक्टर दाहालले जानकारी दिनुभयो ।

 

Similar Posts