रेडपाण्डा संरक्षणका लागि ताप्लेजुङमा ३० वटा कार्यक्रम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले सन् २०२५ भित्र करिव ३० वटा शीर्षकका कार्यक्रम चलाउने भएको छ ।

मञ्चले यो अवधिमा १ करोड ४३ लाख ४८ हजार ८ सय २६ रुपैयाँ खर्च गर्ने भएको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा सञ्चालन खर्च र कार्यक्रमका शीर्षकमा हेरफेर गरिएको छ । सन् २०२४ मा ४१ वटा कार्यक्रम सञ्चालन गर्दा १ करोड ९२ लाख ५५ हजार ८ सय ३३ रुपैयाँ खर्च हुनेगरी रकम बिनियोजन गरिएको थियो । यसपटक अघिल्लो बर्षभन्दा करिव ११ वटा शीर्षकका कार्यक्रमलाई समायोजन गरिएको राईले जानकारी दिनुभयो । संरक्षण मञ्चले उक्त रकम अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जीवीकोपार्जन र पर्यापर्यटन प्रवद्र्धन शीर्षकमा खर्च गर्ने छ ।

हिमाली संरक्षण मञ्चले रेडपान्डाको सम्भावित बासस्थान भएका जिल्लाका सबै क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै वन अभिभावकका लागि पुर्नताजकी तालिम,रेडपाण्डा अनुगमन ब्लकको पुनः रेखाङ्कन,रेडपाण्डाको नियमित अनुगमन,सामुदायिक वनमा चोरी शिकारी तथा चोरी निकासी न्यूनीकरण अनुगमन,कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण खरिद,रेडपाण्डा बुलेटिन प्रकाशन सहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले सञ्चालन गर्ने भएको छ ।

रेडपाण्डाका प्रमुख वासस्थान भएका क्षेत्रका बिद्यालयहरुमा रेडपाण्डा तथा वातावरण संरक्षण सम्वन्धी स्थानीय पाठ्यक्रम सञ्चालन,रेडपाण्डा संरक्षण पुरस्कार,रेडपाण्डा संरक्षण सचेतना वोर्ड स्थापना,रेडपाण्डा संरक्षण सचेतना कार्यक्रम,रेडपाण्डा संरक्षण सम्वन्धी वृतचित्र निर्माण,रेडपाण्डा संरक्षण शिक्षाका लागि पोष्टर र पम्प्लेट छपाई,रेडपाण्डाको आहारा प्रजातिका विरुवा उत्पादनका लागि नर्सरी निर्माण,वृक्षरोपण,पानीपोखरी निर्माण,कुकुरहरुका लागि रेविज बिरुद्धको भ्याक्सिन र बन्ध्याकरण अभियान,सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नविकरण सहितका कार्यक्रम समेत सञ्चालन हुने भएका छन् ।

रेडपाण्डा करिडोर क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुल समेत निर्माण गरिने भएको छ । संरक्षण सिकाईमा नयाँपन दिन उक्त कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक राईले बताउनुभयो । अल्लो कपडा बुनाइ,कटाई,सिलाई र प्रविधि हस्तान्तरण सहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले अघि सारेको छ । गोठमा बस्नेहरुका लागि सोलार सेट बितरण,रेडपाण्डाको बासस्थान व्यवस्थापन तथा बेसलाइन सर्वे,हिमालयन् हाब्रे सेन्टरको थप व्यवस्थापन,हाब्रे संरक्षण केन्द्रको अध्ययन तथा अवलोकनमा आउनेहरुलाई लक्षित गरी बाह्यकक्ष निर्माण सहितका कार्यक्रम सञ्चालन गर्ने हिमाली संरक्षण मञ्चले जनाएको छ ।

सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गरी अघि बढ्न आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । शेर्पाले संरक्षण आफैमा चुनौतीको विषय भएपनि समन्वय गरेर काम गर्नु साझा दायित्व हुने बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सहितका सुरक्षा निकायका प्रमुखहरु,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा सहितका सरोकारवालाको उपस्थिति रहेको थियो ।

Similar Posts