लार्भा नष्ट गर्न सक्रियता बढाउँदै ताप्लेजुङका सरोकारवाला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १५ । ताप्लेजुङ जिल्ला महामारी तथा विपद् व्यवस्थापन समितिले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सक्रियता बढाएको छ ।
डेंगी फैलन नदिन लामखुट्टेको प्रजनन् र बृद्धि हुने स्थान वा बस्तुहरु पहिचान गरी नष्ट गर्नुपर्ने निश्कर्षका साथ बिहीबार फुङलिङ नगरक्षेत्रका बिभिन्न स्थानमा लामखुट्टेको लार्भा खोज्ने तथा नष्ट गर्ने अभियान चलाईएको छ । फुङलिङ नगरप्रमुख अमिर मादेन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सहितको अगुवाई तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी र सरोकारवालाहरुको सहभागितामा सशस्त्र चेकपोइन्ट देखि हेलिप्याड हुँदै तोक्मेडाँडासम्म लार्भा खोज तथा नष्ट अभियान चलाइएको छ ।
प्रजिअ शर्माका अनुसार शुक्रवार जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकाय परिसरमा लार्भा खोज्ने तथा नष्ट गर्ने कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिने छ । यसबाहेक डेंगीको उच्च जोखिम समय साउन देखि असोजसम्म कम्तिमा प्रत्येक साता सम्भावित लामखुट्टेको लार्भा रहने स्थलहरुको पहिचान तथा खोजी गरी लार्भा नष्ट गर्ने अभियान चलाइने प्रजिअ शर्माले बताउनुभयो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलका अनुसार लामखुट्टेको जीवनचक्रको मूल स्रोत लार्भा नष्ट गरी डेंगी फैलनु अघि नै रोमथामका उपाय अवलम्बन गर्न यस्तो अभियान चलाईएको हो । डेंगी नियन्त्रणका अन्य जुनसुकै उपायहरु प्रयोग गरिएपनि खोज तथा नष्ट विधि अनिवार्य रुपमा नियमित र निरन्तर रुपमा अघि बढाउनुपर्ने पौडेलको भनाई छ ।
बिशेष गरी खुल्ला छाडिएका वा बिर्को वा ढकन नलगाई छाडिएका ओभेरहेड तथा अण्डरग्राउण्ड पानी ट्याङ्कीहरु,पानी राख्ने ड्रम,गाग्री वा ब्यारेल,घर वा स्वागतद्धारमा सजावटका रुपमा राखिने पानीले भरिएका घडा वा गाग्री वा गमलाको मुनी रहेको पानीको स्रोत लामखुट्टेले प्रजनन् वा बृद्धि विकास गर्ने प्रमुख केन्द्रको रुपमा रहने गरेका छन् ।
सजावटी इन्डोर बोटबिरुवाको फुलदानी तथा ट्रे,कुलरको पानी संकलन हुने ट्रे,फ्रिजको पछाडि जम्ने पानीको ट्रे,घर पालुवा जनावरका लागि राखिने पानीको भाँडाहरु,शौचालयका ब्रस राख्ने स्टेन्ट,पूजा प्रयोजनमा प्रयोग हुने भाँडाहरु र चुहिने वा फुटेका घरभित्रका पाइपहरुमा समेत लामखुट्टेले प्रजनन् वा बृद्धि विकास गर्ने आधार बनाउँछ ।
आकाशेपानी जम्ने घरको छत वा अन्य गहिरा भाग,अवरुद्ध नाली वा ड्रेनेज प्रणाली,छानाबाट पानी बग्ने गटर(मगरा),छानामा राखिएका त्रिपाल र घर वरपर बनाईएका पानीका फाउन्टेनहरुमा समेत लाभखुट्टेको प्रमुख बिस्तार केन्द्र बनाइरहेको हुन्छ । प्राकृतिक स्थलहरु केरा,सुपारी जस्ता बोटहरुका पातको काप,रुखको खोंच,फालिएका नरिवलका खोल र अटोमोवाइल वर्कसप तथा ग्यारेजमा राखिएका टायरहरुका समेत लामखुट्टेले आफ्नो बृद्धि विकास गर्ने प्रमुख स्थलको रुपमा रहने गरेको छ ।
फुङलिङ नगरप्रमुख मादेनले कवाडीका सामानहरुको उचित व्यवस्थापन समेतमा नगरपालिकाले ध्यान दिने बताउनुभयो । दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र प्रहरीका डिएसपी)प्रमोदप्रकाश पाठक सहितका जिल्लास्थित सुरक्षा अधिकारीले डेंगी नियन्त्रणमा सामुहिक प्रयासको खाँचो औंल्याउनु भएको छ ।