लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियान चलाईंदैं

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १४ । ताप्लेजुङमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियानलाई प्रभावकारी रुपले अघि बढाइने भएको छ ।

स्वास्थ्य कार्यालय,जिल्ला प्रशासन कार्यालय सहितका सुरक्षा निकाय र ताप्लेजुङ जिल्ला अस्पतालको समन्वयमा ‘खोज र नष्ट गर’अभियान अघि बढाइने भएको हो । बुधवार जिल्ला महामारी तथा विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा भएको सरोकारवालाको अन्तरक्रियामार्फत डेंगी संक्रमणको जोखिम न्यूनीकरणका लागि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई सबैले प्राथमिकता दिई अघि बढाउने निश्कर्ष निकालिएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले डेंगीको जोखिम अहिले देशभर फैलिईसकेकोले अब जोखिम हुँदैन वा छैन भनेर सावधानीका उपायहरुको अपनाउनमा कञ्जुस्याँई गर्ने बेला नभएको बताउनुभयो । उहाँले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियान कुनै एक व्यक्ति वा निकायको मात्र दायित्व र जिम्मेवारी नभएको बताउँदै यसमा समुदायका प्रत्येक सदस्य देखि सामाजिक जीवनमा सक्रिय सबै सरोकारवालाको उत्तिकै भूमिका हुने जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले लामखुट्टेको प्रजनन् वा बृद्धि हुने स्थान वा बस्तु पहिचान गरी नष्ट गर्ने कार्यले डेंगी सहितका संक्रमणको जोखिमबाट बच्न सकिने बताउनुभयो ।‘त्यही कारण खोज र नष्ट गर अभियानको प्रभावकारी कार्यान्वयनका लागि सामुहिक दायित्व खोजिएको हो’पौडेलले भन्नुभयो ।

अन्तरक्रियामार्फत हप्ताको एक दिन र एकदिनको एक घण्टा मात्र भएपनि समुदायको सहभागितामा लामखुट्टेको बासस्थान तथा लार्भा नष्ट अभियान चलाउन उपयुक्त हुने सुझाव उठेको छ । खोज तथा नष्ट अभियानले लामखुट्टेको जीवनचक्रको मूल स्रोत नष्ट गरी डेंगी फैलिनु अघि नै रोकथाम गर्न मद्यत गर्ने स्वास्थ्य कार्यालयका प्रमुख पौडेल बताउँनुहुन्छ । तर,खोज तथा नष्ट अभियानलाई नियमित र कम्तिमा हप्ताको एकपटक गर्नु अनिवार्य हुने उहाँको भनाई छ ।

प्रत्येक घरका सदस्यले आफ्नो घर तथा टोलमा,सम्वन्धित कार्यालय,उद्योग वा व्यवसाय सञ्चालकले आफ्नो कार्यस्थलमा,टोलबासीहरु,स्थानीय तहका जनप्रतिनिधि,अगुवा,नगर प्रहरी,सुरक्षाकर्मीहरु,स्थानीय क्लव तथा सामुदायिक संस्थाहरु,स्वास्थ्य कार्यकर्ताहरु र स्वयंसेवकहरुले आफ्नो टोल वा समुदायमा र शिक्षक तथा बिद्यार्थीले आफ्नो शिक्षण संस्था वा बिद्यालय आसपास क्षेत्रमा लामखुट्टे खोज र नष्ट गर अभियान चलाउन सकिने स्वास्थ्य कार्यालयले बताएको छ ।

पानी भण्डारण÷संकलन गर्ने भाँडा वा सामग्री,फ्रिज,कुलर वा सजावटी सामग्रीका लागि पानी राख्ने ट्रे सहितका घरभित्र प्रयोग हुने सामग्री,केरा,सुपारी जस्ता बोटको पातको काप,रुखको खोंच,आकासेपानी जम्ने घरको छत,छानाबाट पानी बग्ने गटर(मगरा),अटो मोवाइल, वर्कशप र ग्यारेजमा राखिएका टायरहरु जस्ता व्यवसायिक क्षेत्रमा लामखुट्टेले प्रजनन् वा बृद्धि विकास गर्ने क्षमता बढी हुन्छ । यस्ता क्षेत्रहरुलाई सुरक्षित गर्ने तथा यस्ता क्षेत्रहरुमा कम्तिमा सातदिनमा एकदिन सफाई गरी लामखुट्टे खोज र नष्ट गर अभियान चलाउँदा समेत जोखिम कम हुने अन्तरक्रिया कार्यक्रममार्फत औंल्याईएको छ ।

कार्यक्रममा तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका डिभिजनल ईञ्जिनियर सिंहबहादुर विष्ट,डिभिजन वन प्रमुख नथुनीप्रसाद गोहिवार यादव,दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय सहित जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायका कार्यालयका प्रमुखहरु तथा सामाजिक तथा गैर सरकारी संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Similar Posts