|

अब पाथीभरा याङवरकमा ‘एक वडा,एक कृषि प्राविधिक’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले चालु आर्थिक बर्षदेखि हरेक वडामा कम्तिमा एकजना कृषि प्राविधिक राख्ने भएको छ ।

‘खेतवारीमा प्राविधिक सेवा,उत्पादनमा टेवा’नारा तय गर्दै पालिकाले प्रत्येक वडाका कृषकहरुलाई खेतिबाली लगाउने तरिका देखि यसको व्यवस्थापनसम्मका जानकारी दिने गरी ‘एक वडा,एक कृषि प्राविधिक’राख्ने भएको हो । पाथीभरा याङवरकमा ६ वटा वडा रहेका छन् । पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार कृषककै घरदैलोमा प्राविधिक सेवा पु¥याउन चालु आवमा यस्तो व्यवस्था सुनिश्चित गर्न लागिएको हो । पालिकाले सिचाँई प्रणालीमा सुधार नगरेसम्म कृषि उत्पादन सम्भव नरहेको निश्कर्ष समेत निकालेको छ । सो कार्यक्रम अन्तरगत पालिकाले मुख्य उत्पादन दिने खेति क्षेत्रको वर्गिकरण गरी सोहि आधारमा आवश्यक सिचाँईको प्रवन्ध गरी उत्पादन र उत्पादकत्व बृद्धिमा बिशेष ध्यान दिने भएको छ ।

कृषि उत्पादन बृद्धिलाई याङवरक गाउँपालिकाको समृद्धिको आधार हुने अपेक्षा गरेको पालिकाले मागका आधारमा कृषकलाई आधुनिक प्रविधि र यन्त्र उपलब्ध गराउने भएको छ । रसायनिक बिषादी प्रतिस्थापित गरी जैविक बिषादी र जैविक मलको उत्पादन र प्रयोगमा पालिकाले जोड दिने भएको छ । पालिकाले कृषिमा आधारित उद्योगलाई पालिकाको दीर्घकालिन सोचको रुपमा विकास गर्ने भएको छ । पालिका अध्यक्ष सुब्बाका अनुसार पालिकामा उत्पादन भएको कृषि उपजलाई पालिकाको मेवाखा क्षेत्रमा स्थापना भएको पाथीभरा कोशेली घरमार्फत बजारीकरणको प्रवन्ध गर्ने पालिकाको योजना रहेको छ । चालु आर्थिक बर्षभित्रै पालिकाको उत्पादनजन्य सामग्रीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न मिल्नेगरी एक कृषि उद्योगको स्थापना गर्ने पालिकाको योजना रहेको छ ।

पालिकाले रैथाने बालीको प्रवद्र्धनलाई पूर्खाले आर्जेको धनको रुपमा लिने घोषणा गरेको छ । सोहि अनुरुप परम्परा देखि खेति हुँदै आएका तर लोप हुने अवस्थामा रहेका कृषि तथा फलफुलजन्य उत्पादन प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहित गरिने पालिकाले जनाएको छ । पालिकाले आफ्नो पालिका क्षेत्रको कृषि क्षेत्रको बस्तुगत स्थिति पत्ता लगाई श्रेस्तामा लिपिवद्ध गर्न किसान सूचीकरण कार्यक्रमलाई पालिकाका ६ वटै वडामा बिस्तार गर्ने भएको छ । पालिकाले किसानलाई व्यवसायमुखी बनाई उनीहरुको मेहनेत र कृषि प्रणालीको दिगोपनका लागि हरेक बर्षको फागुन २७ गते उत्कृष्ट ४ कृषकलाई नगद सहित सम्मान समेत गर्दै आइरहेको छ ।

Similar Posts