मिक्वाखोलाले नीतिमार्फत नै छान्यो १४ गौरवका योजना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले १४ वटा योजनालाई पालिकाको गौरवको योजनाको रुपमा सूचिकृत गरेको छ
। पालिकाले चालु आर्थिक बर्षका लागि पारित गरेको नीतिमै १४ वटा योजनालाई गौरवको योजनाको रुपमा सूचिकृत गर्दै बर्तमान पालिका पदाधिकारी कायम रहेसम्म तिनीहरुलाई निरन्तरता दिई पूरा गर्ने लक्ष्य लिएको छ । पालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार पालिकाले हान्द्रदुङदेखि पापुङको सडक कालोपत्रे,डाँडागाउँ–लिवाङ–साँवा हुँदै पापुङ जोड्ने मोटरबाटो,वैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रम,प्रमुख प्रशासकीय भवन निर्माण,५ शैयाको अस्पताल निर्माण,पापुङमा बर्थिङ सेन्टर निर्माण,ओझा गाउँ आधारभूत बिद्यालयको भवन निर्माण,वडा नं १ को प्रमुख प्रशासकीय भवन निर्माण र शेर्पा आधारभूत बिद्यालयको भवन निर्माणलाई पालिकाको गौरवको योजनाको रुपमा सूचिकृत गरेको छ ।
पालिकाले सिंहेश्वरी आवि,बेसीगाउँ आवि र साँवा माविको भवन निर्माण,साङ्गे छ्योलिङ गुम्बा निर्माण,सगरमाथा आविमा युवा खेलमैदान निर्माण र दुगुर्ने थुम्बा मोटरेवल पुल देखि बेसीगाउँ आवि हुँदै २ नं वडा कार्यालय–वैराखु आवि देखि दुरिङ हुँदै होवोक काँडे जोड्ने सडकको स्तरोन्नतीलाई पालिकाले गौरवको योजनाको रुपमा सूचिकृत गरी पूरा गर्नेतर्फ प्रमुख प्राथमिता दिने बताएको छ । पालिका भित्रका सूचिकृत भएका गौरवका योजनालाई स्रोत सुनिश्चित गर्न पालिकाले मध्यकालिन खर्च संरचना(एमटिईएफ)कार्यान्वयनमा लगेको जनाएको छ । पालिकाले ठूला परियोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव अध्ययन सर्वेक्षणलाई अनिवार्य गर्ने भएको छ ।