श्रीमतिलाई कैंचीले प्रहार गरी घाइते बनाएको दुईदिनपछि मृत्यु,झुठो जाहेरी दिएर बच्न खोज्ने श्रीमान् पक्राउ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १२ । आफ्नै श्रीमतिलाई सामान्य विबाद हुँदा कैचीले प्रहार गरी हत्या गरेर घटनाबाट बच्न झुठो विवरण भरी प्रहरीमा जाहेरी दिने ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ बस्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना शंकास्पद रहेको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गर्दा फेला परेको तथ्यका आधारमा सिरिजङ्गा गाउँपालिका वडा नं ५ स्थायी घर भई अहिले फुनपा ६ बस्ने विजय भनिने सञ्चजमान लिम्बू पक्राउ परेका छन् । उनीमाथि आफ्नै श्रीमति ३० बर्षिय शान्ति राईलाई कर्तव्य गरी मारेको अभियोग छ । पक्राउ परेका लिम्बू माथि कर्तव्य ज्यान मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले बताउनुभयो ।

प्रहरीका अनुसार गत साउन ८ गते विजय भनिने सञ्जमान लिम्बूले श्रीमति शान्तिलाई खैनी माड्न लगाउँदा निजहरुबिच बिबाद भई सञ्जमानले कोठामा रहेको धारिलो हतियार कैंची निकाली श्रीमति शान्तिको योनाङ्ग भन्दा केहि माथि पेटको भागमा घोचेर घाइते बनाएका थिए । घाइते अवस्थाकी श्रीमतिलाई बाटोमा हिड्दा लडेर रडले घोचेको भन्नु भन्दै दबाब दिएर उपचारका लागि ताप्लेजुङ अस्पताल ल्याएर चोटमा सिलाउन लगाई घर लगिएकोमा घाइतेलाई साउन ९ गते फेरि स्वास्थ्य समस्या देखा परेर दिसा पिसाव समेत बन्द भई बान्ता गर्न थालेपछि पुनःउपचारका लागि अस्पताल ल्याईएकोमा उनको उपचारकै क्रममा साउन १० गते राति ११.३० बजे मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटना पछि मृतक शान्तिका श्रीमान् विजयले कर्तव्य ज्यान घटनाबाट बच्न बाटोमा हिड्दै गर्दा रडले घोचेर घाइते भएको झुठो विवरणका साथ प्रहरीमा जाहेरी दिएकोमा प्रहरीले बिशेष सूचना तथा उनीहरुका आफन्तहरुसंगको सोधपुछका आधारमा विजयले श्रीमतिलाई कैंचीले घोचेर घाइते भई सोहि कारणबाट श्रीमति शान्तिको मृत्यु भएको प्रारम्भिक तथ्यका आधारमा विजयलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।‘यो घटनाको अनुसन्धान तथा तथ्यगत बिषय पुष्टीका लागि प्रहरीले राम्रो मेहनेत लगाएको छ’डिएसपी गौतमले भन्नुभयो । सुक्ष्म अनुसन्धानका क्रममा शान्तिको लडेर र रडले घोचेर घाईते भई मृत्यु भएको नभई श्रीमान्ले प्रहार गरेको कैंचीकै कारण मृत्यु भएको शंकाका आधारमा प्रहरीले मृतक शान्तिको शवको पोष्टमार्टम समेत गराएर शव आफन्तलाई जिम्मा लगाएको थियो ।

Similar Posts