१६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड: सिदिङ्वामा मैदान निर्माण कार्य तीव्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० । १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिम्मेवारी ग्रहण गरेको ताप्लेजुङको सिदिङवा गाउँपालिकाले खेल मैदान निर्माणलाई तीव्रता दिएको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने पालिकाको वडा नं ४ साब्लाखुमा खेल मैदान निर्माण कार्य अन्तिम चरणमा पु–याईएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार खेल मैदानसंगै उक्त स्थललाई पालिका स्तरीय रंगशालाको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सुरुमा खेल मैदान निर्माण गरिसक्ने र त्यसपछि अन्य आवश्यक संरचनाहरु क्रमशःथप गरी व्यवस्थित गर्ने लक्ष्य पालिकाले लिएको छ । पालिकाको वडा नं १ कालिखोलामा समेत खेलमैदान सहित अन्य पूर्वाधारका काम समेत हुनेगरी विद्युतीय बोलपत्रलाई प्रक्रियामा लगिएको समेत पालिकाले जनाएको छ । चालु आवमै कालिखोला सहित वडा नं २ सादेवा र वडा नं ३ आङखोपमा समेत खेल मैदान निर्माण कार्य पूरा गर्ने पालिकाको तयारी रहेको छ ।
१५ औं जिल्ला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८१ साल माघ २७ देखि ३० गतेसम्म मैवाखोला गाउँपालिकाको समन्वयमा गाउँपालिकाको वडा नं ३ स्थित नारायणी मावि साँघुमा सम्पन्न भएको थियो । १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आठराई त्रिबेणी गाउँपालिकाको समन्वयमा वडा नं २ फुलवारीस्थित महभीर खेल मैदानमा भएको थियो । जिल्ला खेलकुद विकास समितिले नयाँ भूगोलको जानकारी,ग्रामीण तहमा समेत खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने पुष्टी र खेलकुदका माध्यमबाट ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने हिसावले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहाँका प्रत्येक स्थानीय तहमा सञ्चालन गर्नेगरि तयारी गरेको छ । सोहि अनुसार आठराई त्रिबेणीले १४ औं र मैवाखोलाले १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन समन्वय गरेका छन् भने सिदिङ्वाले १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन समन्वयको जिम्मेवारी लिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश)ले जिम्मेवारी लिएको निकायले अहिलेबाटै प्रतियोगिताका लागि खेल मैदान व्यवस्थापन तथा थप आवश्यक संरचनामा ध्यान दिन थाल्नु खुसीको बिषय भएको बताउनुभयो । उहाँले प्रतियोगिता सभ्य बनाउन अहिलेबाट थालिएको तयारीलाई नियमित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । ताप्लेजुङमा ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि जिल्ला स्तरीय प्रतिश्पर्धा हुने गरेको छ ।