२० लाख १ हजारमा ताप्लेजुङ गोल्डकपको टिकट ठेक्का

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १० । साउन २४ देखि सञ्चालन हुने तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको अवलोकन शुल्कको ठेक्का लागेको छ ।
२० लाख १ हजार रुपैयाँमा बोलपत्र स्वीकृत भएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ५ निवासी बिशाल लिम्बूको अगुवाईमा रहेको समूहले दर्ता गरेको बोलपत्र स्वीकृत भएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । लाखेजात्रा सञ्चालन समितिले कम्तिमा २० लाख रुपैयाँलाई आधार मानेर बढाबढमा यसबर्षको गोल्डकपको टिकट बिक्रीका लागि इच्छुक समूह,संस्था र व्यक्तिलाई बोलपत्र आवह्वान गरेको थियो ।
समितिले पहिलो चरणका ४ खेलको टिकटदर जनही १ सय रुपैयाँ,सेमी फाईनलका २ खेलको टिकट दर २ सय रुपैयाँ र फाइनल खेलको टिकट दर २ सय ५० रुपैयाँ तोकेको छ । बोलपत्र स्वीकृत भएको निकायले अब सोहि टिकट दरका आधारमा दर्शकबाट अवलोकन शुल्क लिनुपर्ने हुन्छ । सर्त अनुसार बोलपत्र पार्ने स्थानीय कम्पनी,समूह र संस्थाले बोलपत्र सकारेको रकमको ७५ प्रतिशत आयोजक संस्थालाई अग्रिम भुक्तानी गर्नुपर्ने छ ।
बोलपत्र सकारेको कम्पनी,समूह र संस्थाले बाँकी २५ प्रतिशत रकम सेमीफाइनल खेल समाप्त भएपछि बुझाउनु पर्ने हुन्छ । यदि बाँकी रकम नबुझाए फाइनल खेलको टिकट बिक्री आयोजक कमिटीले नै गर्ने सर्त समेत राखिएको छ । दर्शकहरुलाई खेलको अवलोकनका लागि बाँसद्धारा निर्मित अस्थायी र यसअघि नै खेलस्थल भानुजन माविको खेलमैदानमा निर्माण भएको स्थायी प्याराफिटको व्यवस्थापन गरिने भएको छ ।