|

बाढीपहिरोले क्षति गरेको सडक मर्मत गर्न सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ८ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडकहरु मर्मत गर्न सुरु गरिएको छ । गएको मंगलबार राति भीषण वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको तमोर कोरिडोर सहितका सडक मर्मत गर्न सुरु गरिएको हो ।
जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक सहितका क्षेत्र जोड्ने तमोर कोरिडोर र अन्य ग्रामीण सडकहरु मर्मत गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार अधिकांस खोला तथा खोल्साहरु रहेको स्थानमा वर्षासँगै बाढी पहिरो आएपछि सडक अवरुद्ध हुन पुगेका र उक्त ठाउँका क्षतिग्रस्त सडकहरु मर्मत गरिँदै आएको छ ।
तमोर कोरिडोरअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको तावा खोला, वडा नम्बर ५ तापेथोकको सिसाँवा खोला र ताप्मावा खोलामा बाढीले क्षति गरेको सडक खण्डमा मर्मत गर्न थालिएको छ । सर्वसाधारण यात्रु तथा पालिकावासी स्थानीयको यातायात सुविधालाई दृष्टिगत गरी बाढी पहिरोले अवरुद्ध गरेको सडक खुलाउन स्थानीय सरकार (गाउँपालिका) लागिपरेको अध्यक्ष लिम्बूको भनाइ छ ।
तमोर इनर्जी प्रालिले उपलब्ध गराएको एक्साभेटर उपकरणसहितको सहयोगबाट खोलानालामा आएको बाढीले क्षति गरेको स्थान र पहिरोको ढिस्काहरु खसेर अवरुद्ध बनेको सडकको मर्मत सुधार गरिँदै आएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोले अवरुद्ध बनाएको सदरमुकाम फुङ्लिङ जोड्ने सडक मर्मत कार्य करिव सम्पन्न हुन लागेको छ ।
यसैगरी बाढी पहिरोले क्षति गरेको ग्रामीण सडक पनि क्रमशः मर्मत सुधार गर्दै जाने गाउँपालिकाले जनाएको छ । मंगलबार राति परेको भीषण वर्षाका कारण तमोर नदीमा आएको बाढीले फक्ताङ्लुङ गाउँपालिकाको रानीपुलस्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज बगाएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको बिपुधापमा पहिरो पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ भने बाढी पहिरोले किसानले लगाएको कृषि बालीमासमेत क्षति गरेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार मंगलबार राति फक्ताङ्लुङको तापेथोक, लेलेप र इखाबु क्षेत्रमा १०६.३ मिलिमिटर पानी परेको थियो । यता फक्ताङ्लुङ गाउँपालिकामा बाढी पहिरोले क्षति गरेको क्षेत्रको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ ।

Similar Posts