खोर हटाउन गरिएको उर्दी बिरुद्ध बङ्गुर तथा सुँगुर पालक र व्यवसायी सडकमा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ७ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गुर तथा सुँगुरको खोर हटाउन गरेको उर्दीको बिरोधमा बङ्गुर तथा सुँगुर पालक तथा व्यवसायी आन्दोलित भएका छन् ।
बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गुरको खोर तथा संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचनामार्फत उर्दी गरेको थियो । नगरपालिकाको उक्त निर्णयको बिरोधमा बुधवार सदरमुकाम फुङलिङमा बङ्गुर तथा सुँगुर पालक तथा व्यवसायीले प्रर्दशन गरेका छन् । आन्दोलनरत पक्षले नगरपालिकाको उक्त निर्णय खारेज हुनुपर्ने एक सूत्रिय माग राखेका छन् । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएकोभन्दै नगरपालिकाले खोर(बङ्गुर राख्ने ठाउँ)हटाउन सूचनामार्फत उर्दी गरेको थियो ।
सूचनाअनुसार बजार क्षेत्रको तोक्मेडाँडा, कफीहाउस लाइन, तोक्मेडाँडा हुँदै पालसिङडाँडा, बुद्धचौक, बिहीबारे क्षेत्रमा बङ्गुरको खोर हटाउनुपर्ने छ । यस्तै बजारको शेर्पाटोल क्षेत्र, दाहालगाउँ, बाझोगरा आधारभूत विद्यालय क्षेत्र, वीरेन्द्रचौक क्षेत्रमा रहेका खोरहरु हटाउन आग्रह गरिएको छ । बजार क्षेत्रकै हुलाक टोल, नवज्योति बोर्डिङ स्कूल, नयाँ बसपार्क, हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर आधारभूत विद्यालय क्षेत्रका बङ्गुर तथा सुँगुरको खोर हटाउनुपर्ने भएको छ । त्यस्तै पुरानो गोसलाइन, कञ्चनजंघा बोर्डिङ स्कूल, रिजाल लाइन, भानुजन माध्यमिक विद्यालय, सेतीधारा बोझे क्षेत्रमा समेत अव्यवस्थित रुपमा रहेका बङ्गुरका खोर तथा संरचना हटाउन नगरपालिकाले अनुरोध गरेको छ ।