पछिल्लो आवमा कञ्चनजंघा आउने पर्यटक २४ प्रतिशतले बढे,राजश्व असुली ३१ प्रतिशतले बृद्धि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ५ । ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या साविक भन्दा उल्लेख्य रुपले बढेको पाइएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार अघिल्लो आर्थिक बर्ष भन्दा आव २०८१।८२ मा झण्डै २४ प्रतिशतले पर्यटकको आगमन संख्या बृद्धि भएको छ । पर्यटकको आगमनमा बृद्धि भएसंगै राजश्व रकममा झण्डै ३१ प्रतिशतले बृद्धि भएको समेत संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । प्रमुख संरक्षण अधिकृत यादवका अनुसार आव २०८१।८२ मा ४० जना नेपाली,५८ जना सार्क मुलुकका र १ हजार २ सय ४६ जना सार्क मुलुक भन्दा बाहिरका बिदेशी पर्यटक गरी कुल १ हजार ३ सय ४४ जना पर्यटक संरक्षण क्षेत्रको भ्रमणका आएका छन् । आ
र्थिक बर्ष २०८०।८१ मा २९ जना नेपाली,३९ जना सार्क मुलुकका र १ हजार १७ जना सार्क मुलुक भन्दा बाहिरका बिदेशी पर्यटक गरी कुल १ हजार ८५ जना पर्यटक संरक्षण क्षेत्रको भ्रमणका आएका थिए । आव २०८०।८१ भन्दा आव २०८१।८२ मा कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या २३.८७ प्रतिशतले बृद्धि भएको छ । संरक्षण क्षेत्रको भ्रमणमा आउने अधिकाँस नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको आरोहण तथा भ्रमणका लागि आउने गरेका छन् । पर्यटकको आगमनमा बृद्धि भएसंगै संरक्षण क्षेत्र व्यवस्थापन परिषद् तथा संरक्षण क्षेत्र कार्यालयबाट असुल भएको राजश्व रकममा झण्डै ३१ प्रतिशतले बृद्धि भएको छ ।
प्रमुख संरक्षण अधिकृत यादवका अनुसार आव २०८१।८२ मा ४४ लाख ३७ हजार ८९ रुपैयाँ राजश्व असुली भएको छ । उक्त रकममध्ये पर्यटन शुल्क(हेलिकोप्टर समेत)बाट २४ लाख ७० हजार ७ सय ९३ रुपैयाँ,वन क्षेत्रको रोयल्टी १८ लाख ९१ हजार ६ सय २ रुपैयाँ,बेरुजु दाखिला २६ हजार १९ रुपैयाँ र वन क्षेत्रको अन्य आय ४८ हजार ६ सय ७५ रुपैयाँ असुल भएको छ । आव २०८०।८१ मा जम्मा ३४ लाख ३ हजार ४ सय ९३ रुपैयाँ राजश्व असुली भएको थियो । उक्त रकममध्ये हेलिकोप्टर समेतको पर्यटन शुल्क वापत २२ लाख २१ हजार ४ सय रुपैयाँ,पर्यटन क्षेत्रको रोयल्टी वापत ११ लाख ४२ हजार ६ सय ४८ रुपैयाँ र वन क्षेत्रको अन्य आयबाट ३९ हजार ४ सय ४५ रुपैयाँ असुली भएको थियो ।