सशस्त्र प्रहरीको नं १ गुल्ममा विपद् व्यवस्थापन सामग्री भण्डारण कक्ष स्थापना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ५ । सशस्त्र प्रहरीको ताप्लेजुङ फुङलिङस्थित नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामा विपद् व्यवस्थापन सामग्री भण्डारण कक्ष स्थापना भएको छ ।
फुङलिङ नगरपालिकाको आर्थिक सहयोग तथा गुल्मको आन्तरिक स्रोत तथा गुल्ममा कार्यरत जनशक्तिको श्रमदानबाट ८ लाख ६० हजार रुपैयाँ भन्दा बढीको लगानीमा उक्त कक्ष स्थापना भएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । ८ लाख ६० हजार ७ सय ८८ रुपैयाँको लागतमा नवनिर्मित उक्त कक्षको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन उद्घाटन गर्नु भएको छ । कुल लागत मध्ये फुङलिङ नगरपालिकाको ६ लाख र २ लाख ७८ हजार ७ सय ८८ रुपैयाँ बरारको गुल्मको आन्तरिक स्रोत र जनश्रमदानमार्फत उक्त कक्ष स्थापना भएको हो ।
विपद् व्यवस्थापन सामग्री भण्डारण कक्षलाई गुल्मले मुख्य प्रवेशद्धार नजिक बनाएको छ । महर्जनको महोत्तरीस्थित बर्दिवासमा सरुवा पछि गुल्मपतिको रुपमा नयाँ जिम्मेवारी लिएर आउनु भएका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले विपद्का बेला तत्काल भण्डारण कक्षबाट उद्धार तथा प्रतिकार्यमा प्रयोग हुने सामग्री लैजान सहज होस् भन्ने उद्धेश्यले उपयुक्त क्षेत्रको खोजी गरी भण्डारण कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । विपद्का उद्धार तथा प्रतिकार्यमा प्रयोग हुने सामग्री भण्डारण कक्षका लागि यहाँका ४ सार्वजनिक निकायले सामग्री दिएका छन् ।
गुल्मपति महर्जनका अनुसार पाथीभरा क्षेत्र विकास समितिबाट २ लाख ९ हजार ६ सय ८१ रुपैयाँ र डिभिजन वन कार्यालयबाट १ लाख २१ हजार १० रुपैयाँ बराबरको सामाग्री प्राप्त भएको छ । यस्तै पाथीभरा याङवरक गाउँपालिकाबाट ६४ हजार ८ सय ७५ रुपैयाँ बराबरको विपद् उद्धारका विभिन्न सामाग्री तथा मिक्वाखोला गाउँपालिकाबाट प्राप्त चेनस मेसिन एक थान प्राप्त भएको गुल्मले जनाएको छ । गुल्मपति महर्जनले विपद्का समयमा प्रयोग हुने बिभिन्न सामग्रीको प्राप्ति र उपलब्धताका लागि गुल्मकोतर्फबाट यहाँका सबै स्थानीय तहमा अनुरोधपत्र समेत पठाईएको जानकारी दिनुभयो ।