आव २०८१।८२ मा पाथीभरा मन्दिरमा आए २ लाख १७ हजार बढी दर्शनार्थी,३ करोड ११ लाख भेटि गणना

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३२ । आर्थिक बर्ष २०८१।८२ को एक बर्षे अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २ लाख १७ हजार ८ सय ७६ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । यो संख्या आर्थिक बर्ष २०८०।८१ भन्दा केहि कम हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०।८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । बिभिन्न किसिमका आन्दोलनका कारण बन्द भएको यातायात तथा पाँचथरको हेंवाखोला क्षेत्रमा बाढीले बेलिब्रिज बगाएपछि दर्शनार्थीलाई आउन कठिनाई भएका कारण आर्थिक बर्ष २०८०।८१ को तुलनामा आव २०८१।८२ मा केहि दर्शनार्थी कम हुन सक्ने आंकलन सुरुमै गरिएको थियो ।
दर्शनार्थीको संख्या घट्दा पाथीभरा मन्दिरमा संकलन भई गणना भएको भेटि रकममा समेत अघिल्लो आव भन्दा आव २०८१।८२ मा केहि कमी देखिएको छ । क्षेत्र विकास समितिका अनुसार आर्थिक बर्ष २०८०।८१ मा पाथीभरा मन्दिरबाट ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटी संकलन भएको थियो । आर्थिक बर्ष २०८१।८२ को असार मसान्त सम्ममा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपैयाँ भेटि गणना भइसकेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।