आठराई त्रिबेणीको शिक्षा ऐनमा पाँचौ संशोधन,बिद्यालय गाभ्न र तह घटाउन देखि कक्षा थप सम्वन्धी व्यवस्था राखियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले मुख्य ६ तथा सहायक तीनवटा परिस्थति बनेमा बिद्यालय एक आपसमा गाभ्न वा तह घटाउन वा स्तरबृद्धि गर्न सकिने प्रावधान ल्याएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाको शिक्षा ऐन २०७८ लाई गत असार २४ गतेको पाँचौं संशोधन गर्दै पालिकाले दुई वा दुई भन्दा बढी बिद्यालयलाई एक आपसमा गाभी एउटै बिद्यालय कायम गर्न सकिने समेतको प्रावधान ल्याएको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले हस्ताक्षर गरी संशोधन सहित लागु भएको शिक्षा ऐनमा बिद्यालय गाभ्नुपर्ने अवस्थामा पनि हाल सञ्चालित वाल विकास कक्षा भने सम्वन्धित स्थानमा रहने उल्लेख गरिएको छ । संशोधित ऐनमा बिद्यालय कस्तो अवस्थामा गाभ्न सकिने भन्ने स्पष्ट उल्लेख छ । जस अनुसार बिद्यालयमा तोकिए बमोजिमको पूर्वाधार नरहेको,बिद्यालयमा सञ्चालित कक्षाहरुमा ऐनले तोकिए अनुसार भन्दा कम बिद्यार्थी भएको अवस्थामा बिद्यालय एक आपसमा गाभ्न सकिने छ ।

ऐन अनुसार कक्षा ०–८ सञ्चालित बिद्यालयहरुमा न्यूनतम् ४५ जना,कक्षा ०–५ सञ्चालित बिद्यालयहरुमा न्यूनतम् ३० जना र कक्षा ०–३ सम्म सञ्चालित बिद्यालयहरुमा न्यूनतम् २० जना बिद्यार्थी हुनु अनिवार्य छ । यस्तो अवस्था नभएमा बिद्यालय एकआपसमा गाभ्न ऐनले बन्देज गर्ने छैन । तर,माध्यमिक तह र भौगोलिक विकटता भएको क्षेत्रमा सञ्चालित आधारभूत तहको बिद्यालय गाभ्नलाई भने कार्यपालिकाले फेरि छुट्टै कार्यविधि बनाउनुपर्ने ऐनमा उल्लेख छ । दुई वा दुई भन्दा बढी बिद्यालयको परिसर एकआपसमा जोडिएको अवस्थामा,दुई वा दुई बिद्यालयबिचको पैदल दुरी ३० मिनेट भन्दा कम रहेको अवस्थामा र दुई वा दुई भन्दा बढी बिद्यालय व्यवस्थापन समितिले बिद्यालय गाभ्न संयुक्त निबेदन दिएमा बिद्यालय एक आपसमा गाभ्न सकिने गरी २०७८ साल बैशाख ११ गते जारी भएको पालिकाको शिक्षा ऐनलाई समय सापेक्ष पाँचौं संशोधन गरेको हो ।

बिद्यालयको कक्षा थप गर्नका लागि सम्वन्धित बिद्यालयले शैक्षिक सत्र सुरु भन्दा कम्तिमा ३ महिना अगावै गाउँ शिक्षा समितिमा आबेदन दिनुपर्ने भएको छ । बिद्यालय गाभ्ने आधारहरुका सर्तहरु पर्याप्त भएपनि गाभ्ने आधार औचित्यपूर्ण नदेखिएमा पालिकाको शिक्षा शाखाको सिफारिसमा कार्यपालिकाले बिद्यालयको माथिल्लो तह वा कक्षा घटाउन सक्ने अधिकार समेत ऐनमा प्रवन्ध गरिएको छ । ऐनमा पालिकाका सामुदायिक बिद्यालयको प्रत्येक कक्षामा शहरी क्षेत्रमा ४५ र ग्रामीण क्षेत्रमा ३० बिद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ । संस्थागत बिद्यालयको प्रत्येक कक्षामा सामान्यता न्यूनतम् २२,अधिकतम् ४४ र औसतमा ३३ बिद्यार्थी हुनुपर्ने प्रावधान ऐनमा उल्लेख गरिएको छ ।

Similar Posts