सिस्ने खोलामा तीनदिनमै जडान भयो बेलिब्रिज

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २३ । ताप्लेजुङको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोला माथि तीनदिनमै बेलिब्रिज जडान कार्य पूरा भएको छ ।
बढीमा चारदिन भित्रमा जडान कार्य पूरा हुने लक्ष्य राखिएकोमा तीनदिनमै पूरा भएको हो । बेलिब्रिज करिव २७.५ मिटर लामो रहेको छ । जडान गरिसक्नेगरी लक्ष्य निर्धारण भएभन्दा अघि नै जडान कार्य पूरा भएपछि बेलिब्रिज निर्माण गर्ने अपर तमोर जलविद्युत आयोजनाले सबैलाई धन्यवाद दिएको छ । अपर तमोर जलविद्युत आयोजनाका आयोजना संयोजक सम्झना क्षेत्रीले लक्ष्य भन्दा अघि नै बेलिब्रिज निर्माण भएकोमा सरोकारवाला सम्वन्धित सबैपक्षलाई धन्यवाद प्रकट गर्नु भएको छ । २ सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना स्वदेशी निजी क्षेत्रबाट निर्माण गर्न लागिएको नेपालकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।
बेलिब्रिज करिव ४ करोड रुपैयाँको लगानीमा निर्माण भएको अपर तमोर जलविद्युत आयोजनाले बताएको छ । सिस्नेखोलामा बर्षायामको समयमा सवारी आवागमन गर्न निकै कठिन हुने गरेकोमा अब बेलिब्रिज निर्माण कार्य पूरा भएपछि बाह्रैकाल सवारी आवागमन गर्न विगतमा देखिएको कठिनाई हट्ने परिस्थति बनेको छ । अपर तमोर जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अनुसारका काम तीव्र गतिमा पूरा गर्दै आएको छ ।