मनसुनजन्य जोखिम क्षेत्रको पहिचान गरी स्थानान्तरण गर्नुपर्ने भए सोसम्म गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १७ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले स्थानीय विपद् व्यवस्थापन समितिको अगुवाईमा मनसुनजन्य जोखिम क्षेत्रको पहिचान गरी अस्थायी स्थानान्तरणसम्मको कार्य कार्य बढाउनुपर्ने निश्कर्ष निकालेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्षहरु समेत सहभागी बैठकले उक्त निश्कर्ष निकालेको हो । बैठकले मनसुनको समय सुरु भएको हुँदा मनसुनको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तह,स्थानीय विपद् व्यवस्थापन समिति,सबै सुरक्षा निकाय,नेपाल रेडक्रस सहितका परोपकारी गैर सरकारी संस्थाहरु र नागरिक समाजका सदस्यहरुबिच परम्पर समन्वयमा सम्भावित विपद् प्रतिकार्यकमा जुट्ने निश्कर्ष निकालेको छ । स्थानीय तहले आफ्नो पालिका क्षेत्रको अति जोखिम बस्ति तथा स्थानको पहिचान गरी बस्ति स्थानान्तरण गर्नुपर्ने अवस्थामा अस्थायी रुपमा सो कार्य समेत अघि बढाउने बैठकले निश्कर्ष निकालेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।
बैठकले मनसुनबाट प्रभावित हुनसक्ने बस्तिहरुको पहिचान गर्ने,पहिचान भएका समुदाय एवम् दोबस्तिहरुमा रहेका व्यक्ति एवम् परिवारमध्ये अति विपन्न,संकटापन्न अवस्थामा परिवारलाई आवश्यक राहत सामग्री स्थानीय तहको समन्वय तथा स्थानीय विपद् व्यवस्थापन समितिको अगुवाईमा अघि बढाउने निश्कर्ष समेत निकालेको छ । स्थानीय स्तरमा अति जोखिम स्थानका बस्तिहरु पहितचान भए अति जोखिम समयमा अस्थायी स्थान्तरणको प्रवन्ध सम्वन्धित स्थानीयतहमार्फत अघि बढाउने निर्णय भएको छ । बर्षायामसंगै बाढी र पहिरोका कारण पालिकाको केन्द्रदेखि सदरमुकामसम्मका पहुँच मार्ग तथा स्थानीय सडक अबरुद्ध लगायतका विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामग्रीको उपलब्धता एकिन गरी स्थानीय सुरक्षा इकाईको समन्वयमा सबै स्थानीय तहमा अति आवश्यक सामग्री तयार हालतमा राख्ने निर्णय समेत जिल्ला विपद् व्यवस्थापन समितिले लिएको छ ।
बैठकले पाँचथरको हेंवाखोलामा बन्दै आएको बेलिब्रिज भत्किएको र अस्थायी डाइभर्सन समेत पानीको सतह बढेको खण्डमा बगाउने खतरालाई मध्यनजर गर्दै हेंवाखोलामा ठूला प्रकारका पेनस्टक पाइपमार्फत अस्थायी डाईभर्सन बनाउनु विकल्पको रुपमा औंल्याएको छ । त्यसका लागि ताप्लेजुङस्थित जलविद्युत योजनामा मौज्दातको रुपमा पेनस्टक पाइप उपलब्ध गराउन सम्वन्धित जलविद्युत योजनाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राप्त पेनस्टक पाइपमार्फत सम्भावित जोखिमका समयमा हेंवाखोलामा अस्थायी डाइभर्सन निर्माणका लागि तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालय र सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।
मेची राजमार्गको सडक अबरुद्ध हुँदा बसन्तपुर–साँघु–दोभानतर्फको एक रुट तथा फिदिम–माझीटार–संक्रान्ति बजार–ह्वाकु–निघुरादिन–फुलवारी–हाङपाङ–दोभान सडकखण्डलाई वैकल्पिक मार्गको रुपमा औंल्याउँदै बैठकले सम्वन्धित स्थानीय तहको सहयोग र समन्वयमा उक्त सडक मर्मतसम्भार गरी सञ्चालनमा ल्याउने निर्णय समेत बैठकले गरेको छ । बैठकले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि मनसुनजन्य विपद् प्रतिकार्य योजना पारित समेत गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् जोखिममा समयमा यात्रा गर्दा सुरक्षाका अधिकतम् उपाय अलम्बन गर्न यात्रु तथा यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ । बैठकले सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विपद्बाट बिस्थापित भई स्थायी पुर्नवास प्रकृयामा रहेका परिवारलाई प्राप्त हुने रकम अनुमोदन तथा मैवाखोलाका बिस्थापित ६५ घरपरिवारका लागि स्थायी पुर्नवास प्रकृयाका लागि संघ र प्रदेश सरकारबाट प्राप्त हुने रकम निकासका लागि अनुरोध गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो ।