ताप्लेजुङमा एसईई नतिजा:३ बिद्यालय निल,५ बिद्यालयका सबै परीक्षार्थी उर्तीण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ताप्लेजुङका तीन बिद्यालयबाट कोहिपनि बिद्यार्थी उर्तीण नहुँदा पाँच बिद्यालयका परीक्षामा सहभागी सबै परीक्षार्थी उर्तीण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार परीक्षामा सहभागी सतप्रतिशत बिद्यार्थी उर्तीण गराउन सफल बिद्यालयहरुमा फुङलिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा(भाषा)बिद्यालय,फक्ताङलुङ गाउँपालिका वडा नं ३ को सिँवा मावि लिङखिम र वडा नं ५ तापेथोकको सरस्वती मावि तापेथोक,आठराई त्रिबेणीको गुप्तेश्वर मावि फुलवारी र मिक्वाखोला गाउँपालिकाको मोति मावि खोक्लिङ रहेका छन् ।

परीक्षामा सहभागी कुनैपनि बिद्यार्थी उर्तीण हुन असफल रहेका बिद्यालयहरुमा सिदिङ्वा गाउँपालिकाको सरस्वती मावि साब्लाखु,सिरिजङ्गा गाउँपालिकाको राष्ट्रिय मावि पेदाङ र मेरिङदेन गाउँपालिकाको सिंहदेवी मावि थिङलाबु रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ताप्लेजुङबाट यसबर्ष ६८ बिद्यालयले एसईई परीक्षा लेखेका थिए । पहिलोपटक एसईई परीक्षामा सहभागी भएको जिल्लाको एकमात्र परम्परागत बिद्यालय साङ्क देछ्योलिङ गोन्पा(भाषा) बिद्यालयका बिद्यार्थीले जिल्लामै राम्रो नतिजा ल्याएको बिद्यालयले जनाएको छ । सतप्रतिशत बिद्यार्थी उर्तीण गराउन सफल उक्त बिद्यालयका बिद्यार्थी लाके शेर्पाले ३.९१ जिपीए ल्याएका छन् । उनको नतिजा जिल्लाकै उत्कृष्ट रहेको बिद्यालयले दावी गरेको छ । सोहि बिद्यालयका प्रितम् गुरुङले ३.८६ जिपीए ल्याएका छन् । बिद्यालयले उनी जिल्लाकै दोस्रो उत्कृष्ट जिपीए ल्याउने बिद्यार्थी रहेको बताएको छ ।

कञ्चनजंघा आवासीय बिद्यालयका रमियुका राईले ३.७८ जिपीए ल्याउँदा भानुजन माविका पर्वत भट्टराईले ३.७७ जिपीए ल्याएका छन् । लिटलबुद्ध आवासीय माविका बिद्यार्थी स्वीकृति तामाङले ३.७२ जिपीए प्राप्त गरेको सो बिद्यालयका प्रिन्सिपल युवराज गिरीले जानकारी दिए । ताप्लेजुङमा यसबर्षको एसईई परीक्षामा नियमिततर्फ १ हजार ४ सय १५ जना बिद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा दिएकामध्ये ६ सय ५० जना(४५.९३ प्रतिशत) र प्राविधिक धारतर्फ १ सय २२ जनाले परीक्षा दिएकोमा ९१ जना(७४.५ प्रतिशत)परीक्षार्थी उर्तीण भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

 

Similar Posts