पाथीभरा याङवरकले आफ्नै खर्चमा जेष्ठ नागरिक र शारिरीक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय परिचपत्र बनाइदिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम लगेर राष्ट्रिय परिचय बनाइदिने भएको छ ।

पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा उठेका प्रश्नको जवाफ दिदैं पालिका अध्यक्ष केशरकुमार सुब्बाले कार्यपालिकाको बैठकले नै राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम फुङलिङ लगि राष्ट्रिय परिचयत्रप बनाउन सहयोग गर्ने बताउनुभयो ।

पालिका अध्यक्ष सुब्बाले सम्वन्धित वडाका वडाध्यक्षको नेतृत्वमा जेष्ठ नागरिक र शारिरीक रुपमा अशक्त व्यक्तिको राष्ट्रिय परिचयपत्र बनाउन सहयोग गर्ने बचन दिनुभयो । उहाँले नागरिक सुनुवाईका लागि थेचम्बु आइपुगेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई पालिकाको सहजीकरणमा राष्ट्रिय परिचयपत्र बनाउन फुङलिङ पुगेका नागरिकलाई उच्च प्राथमिकतामा राखी परिचयपत्र बनाईदिन आग्रह गर्नुभयो ।

नागरिक सुनुवाईका क्रममा नागरिकले राष्ट्रिय परिचयपत्रका लागि घुम्ति शिविरको आयोजना गर्न सकिने बारे प्रजिअ शर्मासंग जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा प्रमुख जिल्ला अधिकारी शर्माले सम्वन्धित व्यक्तिको बायोमेट्रिक समेत लिनुपर्ने भएकोले राष्ट्रिय परिचयपत्रका लागि तत्कालै घुम्ति शिविर राख्न नसकिने जवाफ दिनु भएको छ ।

सार्वजनिक सुनुवाईको क्रममा नागरिकले सार्वजनिक बिदाका दिन समेत पालिकाका सवारी साधनको प्रयोग भइरहेको गुनासो व्यक्त गरेका थिए । जवाफमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले अत्यावश्यक काम,प्राविधिक अनुगमन र बिदाका दिनमा समेत पालिकाकै कार्यको सिलसिलामा सम्वन्धित अधिकारीको स्वीकृतिमा बाहेक पालिकाका सवारी अहिलेसम्म अनावश्यक कार्यमा प्रयोग नभएको बताउनुभयो । उहाँले सवारी साधनको अनुचित प्रयोग भएको सूचना पाए तत्काल पालिकाका अधिकारीलाई लिखित र मौखिक दुबै हिसावले जानकारी दिन सकिने समेत बताउनुभयो । पालिका उपाध्यक्ष रनमाया गुरुङले कार्यविधि अनुसार रहेको अनुगमन समिति बाहेक वडाका पदाधिकारी र अन्य सरोकारवाला समेतको सक्रियतामा अनुगमन कार्य अघि बढाइरहेको जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाईका क्रममा उपभोक्ता समिति समितिको जिम्मेवारी लिने व्यक्ति सम्वन्धित योजनाको बारेमा जानकार भएको व्यक्ति हुनुपर्ने,जनप्रतिनिधि र कर्मचारीले सम्वन्धित पालिकामा निर्माण व्यवसायको कार्य गर्न नपाउने प्रावधानको कडाईका साथ कार्यान्वयन हुनुपर्ने,भलिबल,ब्याडमिन्टन सहितका खेल बाहेक फुटबल सहितका अन्य खेललाई समेत पालिकाले प्राथमिकता दिनुपर्ने,किसानहरुलाई पुरस्कृत गर्दा अपनाइने मापदण्ड,बिधि र प्रकृयाका बारेमा समेत प्रश्न उठेका थिए ।

अनुगमन समिति संयोजक समेत रहनु भएकी उपाध्यक्ष गुरुङले आफुले अहिलेसम्मका अनुगमनका क्रममा निर्माण व्यवसाय क्षेत्रमा आफुले जनप्रतिनिधि र कर्मचारीकै संग्लनता नपाएको प्रष्टीकरण दिनुभयो । सार्वजनिक सुनुवाईको क्रममा नागरिकले उठाएका प्रश्नको पालिका अध्यक्ष सुब्बा,प्रमुख जिल्ला अधिकारी शर्मा,उपाध्यक्ष गुरुङ,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,प्रमुख प्रशासकीय अधिकृत पौडेल,शिक्षा शाखाका प्रमुख अर्जुन श्रेष्ठ,कृषि शाखा प्रमुख निकेश भट्टराई सहितले जवाफ दिनु भएको थियो ।

पाथीभरा याङवरक गाउँपालिकाले असार १४ गते शनिवार पालिकाको वडा नं ४ डुम्रिसेमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

 

Similar Posts