ताप्लेजुङका नौ वटै स्थानीय तहको बजेट चार अर्व २२ करोड

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १० । ताप्लेजुङका नौ वटै स्थानीय तहले सवा चार अर्ब रुपियाँ बढी बजेट प्रस्तुत गरेका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हन् ।
मंगलबार सम्ममा आगामी आवको बजेट प्रस्तुत गरी सकेका यहाँका नौ वटै स्थानीय तहको कुल बजेट चार अर्ब २२ करोड ३० लाख ५२ हजार ५४५ रुपियाँ रहेको छ । सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख ३३ हजार ३८९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार आयोजित १८ औं नगर अधिवेशनमा नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
मंगलबार नै फक्ताङ्लुङ गाउँपालिकाको पनि १८ औं गाउँ अधिवेशनमार्फत उपाध्यक्ष रवीन साम्रा लिम्बूले आगामी आवका लागि ५५ करोड ३८ लाख एक रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाले ४० करोड सात लाख ७७ हजार ८१२ रुपियाँको बजेट पेस गर्नुभएको छ । उता पाथीभरा याङ्वरक गाउँपालिकाले पनि १८ औं गाउँ अधिवेशनमा उपाध्यक्ष रनमाया गुरुङले ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
गएको सोमबार आठराई त्रिबेणी गाउँपालिकाले २१ औं गाउँ अधिवेशन सम्पन्न गर्दै कुल ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले गाउँ अधिवेशनमा उक्त बजेट सार्वजनिक गर्नुभएको थियो । सोमबार नै मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमार लिम्बूले पनि १७ औं गाउँ अधिवेशनमार्फत ४४ करोड ७१ लाख १६ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
सोमबार नै मेरिङ्देन गाउँपालिकाले पनि १८ औं गाउँसभा तथा अधिवेशन आयोजना गर्दै ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्बाङले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । यसअघि असार ५ गते ४४ करोड ५२ लाख ८७ हजार रुपियाँ बराबरको आगामी आवका लागि बजेट सार्वजनिक गरेको थियो । उक्त बजेट गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले १७ औं गाउँ अधिवेशनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी सिरिजंघा गाउँपालिकाले पनि गएको आइतबार नै आगामी आवको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले १७ औं गाउँ अधिवेशनमार्फत कुल ५८ करोड ७५ लाख आठ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । मंगलबार सम्ममा बजेट प्रस्तुत गरी सकेका जिल्लाका नौवटै स्थानीय तहले आगामी आवका लागि नीति कार्यक्रम पनि प्रस्तुत गरी सकेका छन् । नीति कार्यक्रमहरु सम्बन्धित स्थानीय तहका प्रमुख अर्थात अध्यक्षले अधिवेशनमार्फत प्रस्तुत गर्नुभएको छ ।