| |

ताप्लेजुङका तीन स्थानीय तहको बजेट झण्डै डेढ अर्ब

-प्रयास लिम्बू
ताप्लेजुङ, असार ९ । ताप्लेजुङका तीन स्थानीय तहले झण्डै डेढ अर्ब रुपियाँ बजेट प्रस्तुत गरेका छन् । सोमबार सम्बन्धित स्थानीय तहको सभा तथा अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हन् ।
जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाले २१ औं गाउँसभा तथा अधिवेशनमार्फत कुल ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले गाउँसभामा प्रस्तुत गर्नुभएको कुल बजेटमध्ये पुँजीतगतर्फ १८ करोड५९ लाख ८१ हजार ७७५ रुपियाँ रहेको छ ।
यस्तै चालुतर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ बजेट रहेको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) ले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यस्तै मैवाखोला गाउँपालिकाले १७ औं गाउँसभा तथा अधिवेशनमार्फत ४४ करोड ७१ लाख १६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाअध्यक्ष विजयप्रकाश वनेमको अध्यक्षतामा भएको गाउँ अधिवेशनमा उपाध्यक्ष कमलकुमारी लिम्बूले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
उपाध्यक्ष लिम्बूले प्रस्तुत गर्नुभएको उक्त बजेटमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ नौ करोड ४४ लाख रुपियाँ रहेको छ । त्यस्तै संघीय सरकारकै सशर्त अनुदानतर्फ १७ करोड ९१ लाख रुपियाँ रहेको छ । राजस्व बाँडफाडतर्फ सात करोड २५ लाख ८७ हजार रुपियाँ, समपुरक अनुदान एक करोड ३९ लाख र विशेष अनुदानतर्फ ६८ लाख रुपियाँ बजेट रहेको छ ।
त्यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ ८५ लाख २५ हजार रुपियाँ, सशर्त अनुदानतर्फ ६६ लाख ८६ हजार रुपियाँ रहेको छ । त्यस्तै प्रदेश सरकारकै राजस्व बाँडफाडतर्फ ४४ लाख ३२ हजार रुपियाँ, समपुरक अनुदान एक करोड ५९ लाख रुपियाँ बजेट रहेको छ । आन्तरिक आय भने ६५ लाख रुपियाँ मात्र रहेको छ । मौवाखोलाको आन्तरिक आय मौज्दात तीन करोड ७१ लाख ५० हजार रुपियाँ रहेको पनि बजेट विवरणमा उल्लेख गरिएको छ । मैवाखोलाले आगामी आवको नीति कार्यक्रम भने गत जेठ २७ गते नै प्रस्तुत गरी पारित गरिसकेको छ ।
यसैगरी मेरिङ्देन गाउँपालिकाले पनि सोमबार १८ औं गाउँसभा तथा अधिवेशन आयोजना गर्दै ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्बाङले गाउँ अधिवेशनमा आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेट विवरणअनुसार संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ७९ लाख रुपियाँ रहेको छ ।
सङ्घीय सरकारकै सशर्त अनुदान चालुतर्फ १८ करोड ३२ लाख, सशर्त पुँजीगत अनुदानतर्फ एक करोड ८९ लाख, विशेष अनुदान तीन करोड १० रुपियाँ रहेको छ । समपुरक अनुदान एक करोड १३ लाख रुपियाँ र राजस्व बाँडफाडतर्फ आठ करोड ४० लाख ८१ हजार ९२८ रुपियाँ रहेको छ । प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान बजेट ९७ लाख ७१ हजार रुपियाँ, सशर्त अनुदान दुई करोड ४६ लाख ३६ हजार रुपियाँ र समपुरक अनुदान एक करोड ४० लाख रुपियाँ रहेको छ ।
प्रदेशकै सवारी साधन कर बाँडफाडतर्फ ५४ लाख ६२ हजार रुपियाँ रहेको उपाध्यक्ष श्रेङ्चोङ्बाङले बजेट विवरणमा उल्लेख गर्नुभएको छ । त्यस्तै आन्तरिक स्रोत कर तथा राजस्वतर्फ ५० लाख रुपियाँ र आन्तरिक आय मौज्दात रकम एक करोड पाँच लाख रुपियाँ रहेको छ । गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर) ले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
जिल्लाको नौ स्थानीय तहमध्ये सिरिजंघा गाउँपालिकाले आइतबार र सिदिङ्वा गाउँपालिकाले गएको बिहीबार आगामी आवको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरी सकेको छन् । बाँकी रहेको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले मंगलबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् ।

Similar Posts