आठराई त्रिबेणीद्धारा बर्तमान कार्यकालमा भएका मुख्य ८ उपलब्धी सार्वजनिक

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले बर्तमान कार्यकालमा भएका मुख्य ८ उपलब्धी सार्वजनिक गरेको छ ।
आगामी आर्थिक बर्षका लागि नीति,कार्यक्रम र बजेट ल्याउनु दुईदिन अघि पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले २०७९ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकालमा भएका ८ मुख्य उपलब्धी सार्वजनिक गर्नु भएको हो । पोमूका अनुसार प्रमुख प्रशासकीय भवन,भवनको भित्रै भलिबल समेत खेल्न मिल्ने कर्भडहल जस्ता दिगो प्रकृतिका संरचना निर्माण,पालिकाका ५ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन समेतका कार्य आफु नेतृत्वको पालिका टिमले गरेको छ ।पोमूका अनुसार चालु आर्थिक बर्ष भित्रै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु हुनेगरि तयारी गरिएको छ ।
पालिकाभरीका सेवाग्राहीको घरायसी प्रयोजनमा खपत भएको विद्युतको महशुल पालिकाले तिरिदिने,२०८३ भदौ भित्रमा पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्ने अन्तरगतका कार्य,कक्षा १२ सम्मको शिक्षा निःशुल्क,पालिका र मातहतका सबै सरकारी कार्यालयमा फाइवर नेट जडान,सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा,जेष्ठ नागरिकका लागि निःशुल्क चश्मा र दन्त उपहार सेवा प्रदानलाई पालिकाले मुख्य ८ उपलब्धीको रुपमा लिएको छ ।