धमाधम बजेट ल्याउँदै ताप्लेजुङका स्थानीय तह,सिरिजङ्गाले आज बजेट ल्याउँदै,सिदिङवाले ल्यायो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । ताप्लेजुङका स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि धमाधम नीति,कार्यक्रम र बजेट ल्याउन थालेका छन् ।
आइतवार सिरिजङ्गा गाउँपालिकाले आगामी आवका लागि नीति,कार्यक्रम र बजेट सभामा पेश गर्दैछ । पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले स्थानीय आवश्यकताका केहि नयाँ तथा केहि पुराना कार्यक्रमको निरन्तरतामा आधारित रहेर बजेट ल्याउन लागेको बताउनुभयो । सभामा पालिका अध्यक्ष लालकृष्ण चौहानले नीति र कार्यक्रम तथा उपाध्यक्ष मावोले बजेट ल्याउने तयारी गरिएको छ ।
सिदिङ्वा गाउँपालिकाले असार ५ गते नै नीति,कार्यक्रम र बजेट ल्याई सभाबाट अनुमोदन समेत गरिसकेको छ । पालिका अध्यक्ष मानबहादुर राईले नीति तथा कार्यक्रम तथा उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले बजेट सभामा पेश गर्नु भएको थियो । सिदिङ्वाले साढे ४४ करोड हाराहारीको बजेट ल्याएको छ ।
नीति तथा कार्यक्रम सभाबाट पारित गरिसकेको मैवाखोलाले सोमवार आगामी आवको बजेट सभामा पेश गर्ने भएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एकाध बाहेक आगामी आवको बजेटबाट पुरानै कार्यक्रमले निरन्तरता पाउनेछन् । आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाले पनि सोमवारै आगामी आवको नीति,कार्यक्रम र बजेट सभामा पेश गर्दैछन् ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले निर्वाचनताका गरिएका घोषणापत्र अनुसार पूरा हुन बाँकी रहेका योजना,टोलबस्तिबाट आएका सुझाव र मागका आधारमा नीति,कार्यक्रम र बजेट आउने जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाँवीर(डम्बर)हाङगामले असार ९ गते सभामा नीति,कार्यक्रम र बजेट पेश गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
पाथीभरा याङवरक गाउँपालिकाले असार ९ गरी दुईदिनका लागि बजेट अधिबेशन आवह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले ९ र १० दुईदिनमा नीति,कार्यक्रम र बजेट सभामा पेश तथा पारित गर्नेगरि अधिबेशनको कार्यसूची तयार भएको जानकारी दिनुभयो ।
फुङलिङ नगरपालिका,फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले असार १० गते आगामी आवका लागि नीति,कार्यक्रम र बजेट सभामा पेश गर्ने भएका छन् । मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले असार १० गतेका लागि बजेट अधिबेशनको कार्यसूची तय भएको जानकारी दिनुभयो ।
फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले असार १० गतेका लागि पालिकाको बजेट अधिबेशन आवह्वान गर्नु भएको छ । फुङलिङ नगरपालिकाका अधिकृत (छैटौं)कृष्णप्रसाद सुबेदीका अनुसार नगरपालिकाको बजेट अधिबेशन असार १० गते देखि सुरु हुने भएको छ ।
असार १० गते नीति तथा कार्यक्रम मात्रै पेश गरेर अधिबेशनलाई निरन्तरता दिने की भन्ने बिषयमा नगरपालिकामा छलफल चलिरहेको सुबेदीले जानकारी दिनुभयो । अधिबेशनबारे छलफल गर्न आइतवारका लागि कार्यपालिका बैठक बोलाईएको र त्यसले टुङ्गो लगाउने सुबेदीले जानकारी दिनुभयो ।