फुङलिङको दोखुमा ‘किसानसंग कृषिमन्त्री’कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ६ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ दोखुस्थित मेवाराजामा शुक्रवार‘किसानसंग कृषिमन्त्री’सम्वन्धी अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
कोशी सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति तथा उक्त मन्त्रालयको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजकर्ता संस्था दोखु मिडिया सेन्टरका सञ्चालक तथा प्रधानसम्पादक माला पालुङ्वाले जानकारी दिनुभयो । अन्तर सम्बाद कार्यक्रममा किसानहरुले कोशी प्रदेश सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि गर्ने सहयोग र आगामी कार्ययोजना बारे कोशी सरकारका मन्त्री हाङगामसंग जिज्ञासा राखेका थिए ।
जिज्ञासा सम्बोधन गर्ने क्रममा मन्त्री हाङगामले खेति प्रणालीमा नयाँपन ल्याउन,जैविक बिषादी प्रयोगलाई बढावा दिन,आधुनिक कृषि प्रणालीका लागि आवश्यक पर्ने उपकरण र प्रविधि हस्तान्तरणमा कोशी सरकार र आफ्नो मन्त्रालय सम्बेदनशिल रहेको बताउनुभयो । मन्त्री हाङगामले माटो सुहाउँदो खेति प्रणालीको विकासका लागि कोशी सरकारले ध्यान दिने बताउनुभयो । कृषि क्षेत्रको बलियो सम्भावना रहेका ताप्लेजुङ सहित कोशी प्रदेशका बिभिन्न जिल्लाहरुका किसानसंग किसानका आवश्यकता बुझ्ने क्रममा उक्त कार्यक्रम अघि सारिएको हाङगामको भनाई छ ।
उत्पादनका हिसावले खेतियोग्य जमिनको वर्गिकरण गरी त्यही आधारमा उत्पादन र उत्पादकत्व बृद्धि गर्न आफ्नो मन्त्रालयले पकेट क्षेत्रको विकासमा समेत उचित ध्यान दिने मन्त्री हाङगामले बताउनुभयो । किसानले सिचाँईको व्यवस्थापन देखि उन्नत जातको बीउबिजन,सीप,प्रविधि,शीत भण्डारण र बजारीकरण सहित उत्पादन र उत्पादकत्व बृद्धिका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने माग गरेका थिए ।