| |

सिदिङ्वाको आगामी आवको बजेट साढे ४४ करोड

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि साढे चवालिस करोड रुपियाँ बढी बजेट प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न १७ औं गाउँसभामार्फत गाउँपालिकाले आगामी आव २०८२–८३ का लागि बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखुमा आयोजित गाउँसभामा उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले कुल ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये वित्तीय समानीकरणअन्तर्गत संघको १० करोड ३० लाख रुपियाँ, राजस्व बाँडफाँड आठ करोड २२ लाख रुपियाँ रहेको छ ।
यस्तै प्रदेशको वित्तीय समानीकरणअन्तर्गत ९२ लाख २३ हजार रुपियाँ, प्रदेशको राजस्व बाँडफाँडबाट ५१ लाख ७६ हजार रुपियाँ, रोयल्टीबाट एक लाख ५० हजार र स्थानीय राजस्व बाँडफाँडको छ लाख रुपियाँ रहने उपाध्यक्ष कडरियाले बजेट विवरण पेश गर्नुभएको छ । आन्तरिक स्रोतबाट पाँच करोड ४७ लाख ७५ हजार रुपियाँ प्राप्त हुने बजेट विवरण पेश गरिएको छ ।
यस्तै संघीय सरकारको सशर्त अनुदानबाट १९ करोड एक लाख रुपियाँ प्राप्त हुने अनुमान बजेट वक्तव्यमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर राईको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन समारोह पालिकामा रहेको पर्यटकीय गन्तव्य ढङ्ढगे झरनास्थलमा आयोजना गरिएको थियो । ढङ्ढगे झरनाको प्रवर्धन र विकास साथै थप प्रचारप्रसार गर्ने उद्देश्यले गाउँसभाको उद्घाटन ढङ्ढगे क्षेत्रमा गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी गाउँसभासमक्ष गाउँपालिका अध्यक्ष राईले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आगामी आवको बजेट तथा नीति कार्यक्रम प्रस्तुत भएसँगै अब आवश्यक छलफल र पालिका सभाको बैठकबाट पारित गरिने पनि गाउँपालिकाले जनाएको छ । जिल्लाको एक नगरपालिकासहित नौ स्थानीय तहमध्ये आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिदिङ्वा गाउँपालिका पहिलो भएको छ ।
यता गाउँसभाको अवसरमा विभिन्न तहमा रहेर कार्यरत उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । यसअघि आगामी आवको नीति कार्यक्रम भने मैवाखोला गाउँपालिकाले गत जेठ २७ गते नै प्रस्तुत गरी पारित गरिकेको छ ।

Similar Posts