फुनपाको जनतासंग जनप्रतिनिधि कार्यक्रमःकृषि एम्बुलेन्स देखि सडक बत्तिसम्मका माग,आवधिक योजनाको बिषय पनि उठ्यो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको‘जनतासंग जनप्रतिनिधि’कार्यक्रममा क्रममा नागरिकहरुले नगरक्षेत्रमा कृषि एम्बुलेन्स सञ्चालन देखि सडकबत्तिसम्मको माग गरेका छन् ।
मंगलवार फुङलिङ नगरपालिका वडा नं ८ मा सञ्चालन भएको कार्यक्रममा नागरिकले कृषि उपज उत्पादनमा कर नलगाउन तथा लामो समयसम्म भण्डारणका लागि शीत भण्डारणको व्यवस्थापन गर्न माग गरेका हुन् । कृषि उपज उत्पादनको बजारीकरणका देखिएको समस्या हल गर्न स्थानीय कृषक चेतराज घिमिरेले नगर सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले बिद्युतको लत्रिएका तार र पोलको उचित व्यवस्थापनमा स्थानीय सरकारले सम्वन्धित पक्षलाई घच्घच्याउनुपर्नेमा समेत जोड दिनुभयो । अर्का सेवाग्राही मदन पौडेलले दमकल र स्काईभेटर सहितका उपकरणको व्यवस्थापनमा नगरपालिकाको उचित ध्यान जान नसकेको गुनासो गर्नुभयो ।
सेवाग्राही प्रेमप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिहरुले नगरक्षेत्रबाट प्रवाह भईरहेको सेवा प्राप्तिको सूचना सहज ढंगबाट नपाएको गुनासो गर्दै सामाजिक सुरक्षा भत्ता बितरणलाई वडापालिकामा केन्द्रित गर्न सल्लाह दिनुभयो । सेवाग्राही अरनी गुरुङले फुङलिङ नगरपालिकाबाट प्रदान भइरहेको सेवा प्रवाहले वडा क्षेत्रका सबै नागरिकलाई समेटेको भन्दै वडापालिकाको प्रशंसा गर्नुभयो ।
सेवाग्राही दुर्गाप्रसाद घिमिरेले सेवा प्रवाहमा खास कठिनाई नभएपनि नगरपालिकाले विकास र समृद्धिको अभियानमा अग्रसर हुन ठोस योजना तय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा यसअघिका जनप्रतिनिधिको पालामा निर्माण भएको ५ बर्षे नगर आवधिक योजनाको बिषयले समेत प्रवेश पाएको थियो । पूर्व वडाध्यक्ष समेत रहेका सेवाग्राही पदम पालुङवाले नगरपालिकाले विकासको स्पष्ट खाँका र मार्गचित्र ल्याउनमा अझै ढिलाई गरिररहेको गुनासो गर्नुभयो । नगरपालिकाको आवधिक योजनाका आधारमा नगर सरकार विकासको अभियानमा एककदम अग्रसर हुनुपर्ने पालुङवाको सुझाव थियो ।
पूर्व नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार २०७४ सालको निर्वाचनबाट फुङलिङ नगरपालिका नेतृत्वमा आएको कार्यपालिकाले नगरक्षेत्रको ५ बर्षे आवधिक योजना तयार गरेको छ । तर अहिलेको नगर सरकार आवधिक योजना नभएको झैं गरिरहेको छ । सेवाग्राही भगिमान पालुङ्वाले फुनपा –८ का सम्बेदनशिल क्षेत्रहरुमा सडकवत्तिको प्रवन्ध गर्नुपर्ने बताउनुभयो । सेवाग्राही ठाकुरनाथ पौडेलले नगर सरकारको ध्यान आम नागरिकका हितमा केन्द्रित हुनुपर्ने सुझाव राखे । सेवाग्राही छविरमण गुरुङ,रविन्द्र पालुङवा,प्रकाश पौडेल सहितले नगर सरकारलाई नागरिकका पक्षमा काम गरेर नगरलाई समृद्ध नगर बनाउन सल्लाह दिनु भएको थियो ।
फुनपा वडा नं ८ को कार्यक्रममा नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,फुनपा वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवार सहित जवाफदेही पक्षको भूमिकामा हुनुहुन्थ्यो । फुङलिङ नगरपालिकाले पत्रकार महासंघ ताप्लेजुङको सहजीकरणमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिरहेको छ । चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार बुधवार असार ४ गते फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन हुने पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो । यसअघि जानकारी मिडिया प्रालिको सहजीकरणमा नगरपालिका क्षेत्रका बिभिन्न वडामा सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।