|

सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने लाभग्राहीको माग

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन् । नगरपालिकाकै दुर्गम वडाको रुपमा रहेको फावाखोलाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनुपर्ने माग गरेका हुन् ।
फुङ्लिङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सहजीकरणमा शनिबार जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । फावाखोलास्थित वडा कार्यालयमा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागी लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम पाउनुपर्ने माग गरेका हुन् ।
सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्नलाई असहज भएकोभन्दै आफूहरुले पाउने सामाजिक सुरक्षा भत्ता रकम वडाबाटै पाउने व्यवस्था मिलाई दिन लाभग्राहीले माग गरेका हुन् । सदरमुकाममा रहेको बैंकसम्म भत्ता रकम लिन जानलाई ज्येष्ठ तथा अपांग नागरिकलाई थप कठिन भएको लाभग्राहीको भनाइ छ । आफू अपांगसमेत भएकाले भत्ता रकम प्राप्त गर्न सदरमुकामसम्म जानलाई निकै सास्ती खेप्दै आउनुपरेको लाभग्राही ७२ वर्षीया रमलादेवी बिष्टले बताउनुभयो ।
बिष्टले सुरुसुरुमा घरमै बसेर भत्ता रकम बुझ्दा धेरै सहज भएको र अहिले सोही भत्ता लिन सदरमुकामसम्म धाउनुपर्दा हैरानी भएकोभन्दै बिष्टले भत्ता रकम वडाबाटै पाउने व्यवस्था मिलाई दिन माग गर्नुभएको छ । अर्का ७० वर्षीय चन्द्रबहादुर सेम्बुले पनि सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गर्नुभयो । ज्येष्ट नागरिकलाई भत्ता रकम बुझ्नका लागि सदरमुकाम धाउन समस्या भएको र सदरमुकामसम्म ओहोरदोहोर गर्दा यातायात र अन्य खर्च गरी करिव तीन हजार रुपियाँ सकिने सेम्बुले बताउनुभयो ।
बिष्ट र लिम्बूजस्तै फावाखोलाका अन्य लाभग्राहीले पनि सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनेगरी व्यवस्था मिलाई दिन माग गर्नुभएको छ । वडाबाटै भत्ता रकम पाउने प्रवन्ध भएमा सदरमुकाम फुङ्लिङ बजारसम्म ओहोरदोहोर गर्नमा सास्ती खेप्नु नपर्ने र रकम बुझ्नलाई आउजाउ गर्दा लाग्ने खर्च पनि बचाउ हुने लाभग्राहीले बताएका छन् ।
लाभग्राहीको माग सुनेपछि नगर प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले आगामी आर्थिक वर्षदेखि बैंकसँग समन्वय गरेर वडाबाटै सामाजिक सुरक्षा भत्ता रकम पाउने व्यवस्था मिलाउने आस्वासन दिनुभयो । नगर प्रमुख मादेनले फावाखोला र वडा नम्बर १० फुरुम्बुका लाभग्राहीले आगामी आवदेखि वडाबाटै भत्ता रकम प्राप्त गर्ने प्रवन्धका लागि पहल गरिने बताउनुभयो । उक्त दुईवटा वडामा हालसम्म सामाजिक सुरक्षा भत्ता पाउने करिव १४० जना लाभग्राही रहनुभएको छ ।
यस्तै जनतासँग जनप्रतिनिधि कार्यक्रममा वडावासीले सडक, विद्यालयका घेराबार, बालमैत्री कक्षाको संरचना लगायतका पूर्वाधारका लागि बजेट बिनियोजन गरिदिन माग गरेका छन् । उम्मेदवार भएको बेला गरेको प्रतिबद्धता अनुसार कुनै काम नगरेकोभन्दै वडावासीले असन्तुष्टि पनि जनाएका छन् । कतिपय पूर्वाधारका काममा निर्माण कम्पनीले जस्तो गरे पनि हुने र स्थानीय उपभोक्ता समितिमार्फत गर्दा गुणस्तरको विषयमा हैरानी दिने गरिएकाले योजना अनुमगन प्रभावकारी हुनुपर्ने पनि वडावासीले बताएका छन् ।
कार्यक्रममा वडावासीले उठाएका प्रश्न, सवाल तथा मागका विषयमा नगर प्रमुख मादेन, उपप्रमुख ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडाध्यक्ष युवराज भट्टराई (योगेश) लगायतले जवाफ दिनुभएको थियो । यता जवाफदेही पक्ष र वडावासी जनताबिच सवाल जवाफको सहजीकरण भने पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष आनन्द गौतमले गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहजीकरण तथा फुङ्लिङ नगरपालिकाको आयोजनामा जनतासँग जनप्रतिनिधि कार्यक्रम गएको बिहीबारदेखि सुरु गरिएको हो । जनतासँग जनप्रतिनिधि कार्यक्रम अझै केही वडामा बाँकी रहेको पत्रकार महासंघका जिल्ला अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पत्रकार महासंघको सहजीकरणमा जिल्लाका अन्य स्थानीय तहमा पनि सार्वजनिक सुनुवाई तथा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

Similar Posts