| |

‘नो केबलकार’ पक्षले पाथीभरा क्षेत्रमा वृक्षारोपण गर्दै

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न सुरु भएको केबलकार खारेजीको माग गर्दै ‘नो केबलकार’ पक्षले वृक्षारोपण गर्ने भएको छ । नो केबलकार पक्षले आज र भोलि (शनिबार र आइतबार) पाथीभरा क्षेत्रमा बृहत वृक्षारोपण गर्ने भएको हो ।
पाथीभरा (मुक्कुम्लुङ) संरक्षण अभियान चलाउँदै आएको नो केबलकार पक्षले पूर्व घोषित कार्यक्रमअनुसार वक्षारोपण गर्न लागेको जनाएको छ । केबलकार निर्माण गरेर ऐतिहासिक पवित्र स्थलमाथि अतिक्रमण गर्न लागिएकोभन्दै विगतदेखि नै केबलकारविरुद्ध आन्दोलन गर्दै आएको नो केबलकार पक्षले आन्दोलनकै कार्यक्रमअन्तर्गत वृक्षारोपण गर्न लागेको हो ।
नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको उल्लेख गरेको छ । मुक्कुमलुङको पहिचान र अस्तित्व संरक्षणको आन्दोलनसँगै वार्ता, सम्वाद, कानुनी उपचारसहित सबैखाले उपायहरु नो केबलकार पक्षले अवलम्बन गरिरहेको पनि जनाएको छ ।
नो केवलकार पक्षले यसअघि गत जेठ पहिलो साता प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुक्कुमलुङ संरक्षणका लागि भइरहेको पहलमा कुनै निस्कर्ष नपुगी काम सुरु गरेमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । । सर्बोच्च अदालतमा दर्ता भएका रिटहरुको कुनै निर्णय भइनसकेको मुद्दाको किनारा नलागेसम्म केवलकार निर्माणको काम यथास्थितिमा राख्न भनी अदालतको आदेश भएको र उक्ता आदेशको उल्लंघन भएमा जनताको सशक्त प्रतिरोध हुने पनि नो केबलकार पक्षले चेतावनी दिएको छ ।
नो केवलकार पक्षको मुक्कुमलुङ ताङ्सेःप चुम्भोअन्तर्गत १३ वटा संघ-संस्था आवद्ध छन् भने अन्तर दलतर्फ ११ वटा राजनीतिक पार्टी तथा संगठन आवद्ध छन् । यता शनिबार र आइतबार हुने बृहत वृक्षारोपण कार्यक्रममा नो केबलकार पक्षमा आवद्ध देशभरका पाथीभरा संरक्षण अभियानकर्मीहरुको सहभागिता रहने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले जानकारी दिनुभयो ।

Similar Posts