|

रुख ढलेर अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुल्यो

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २८ । हावाहुरीका कारण ठाउँ–ठाउँमा रुख ढलेर अवरुद्ध बनेको मेची राजमार्ग खुलेको छ । मंगलबार बेलुकादेखि अवरुद्ध बनेको ताप्लेजुङस्थित मेची राजमार्गको फुरुम्बु–लिङ्खिम खण्ड करिव १९ घण्टापछि खुलेको छ ।
मङ्गलबार साँझ ६ बजेतिर वर्षासँगै आएको हावाहुरीले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुस्थित मेची राजमार्गको फुरुम्बु–लिङ्खिम खण्डअन्तर्गत याफ्रेमा रुख ढलेर यातायात अवरुद्ध बनेको थियो । हावाहुरीले ढालेका उतिसलगायत प्रजातिका रुखहरु पन्छाएपछि सडक सञ्चालनमा आएको फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो ।
वडाध्यक्ष लिम्बूका अनुसार बुधबार (आज) दिउँसो करिव २ बजेदेखि राजमार्ग खुलेको हो । अपराह्न १२ बजे पछिसम्म सडक कार्यालयलगयत नियमक निकायबाट अवरोध हटाउने कुनै पहल नभएपछि वडाध्यक्ष लिम्बूकै अगुवाइमा रुखहरु हटाएर राजमार्ग खुलाइएको हो । सडकमा ढलेका रुखहरु हटाउनलाई वडा कार्यालयले रुख काट्ने ब्राजिल मेसिनसहित आवश्यक औजार व्यवस्थापन गरी सडकको अवरोध पन्छाएको वडा सचिव सचिन रेग्मीले जानकारी दिनुभयो ।
वडा सचिव रेग्मीका अनुसार हावाहुरीले सडक ढालेको रुखहरु हटाएसँगै राजमार्ग सुचारु भएको हो । रुखहरु पन्छाएर सडक खुलेपछि बुधबार दिउँसो करिव २ बजे पछिदेखि यातायातका साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । यता तमोर कोरिडोर (सुभाङ खोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनाका सूचना अधिकारी बसन्त गाइँले राजमार्ग अवरोधबारे समयमा जानकारी नभएको बताउनुभयो ।
उक्त सडक खण्डमा अधिकांस स्थानीय (लोकल) यातायातका साधन सञ्चालन हुने भएकाले सडक अवरोध भएको जानकारी योजना कार्यालयमा समयमा नभएको हुनसक्ने बताइएको छ । हावाहुरी, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिको मर्मतसम्भार तथा पुनर्निर्माणसहित राजमार्ग नियमनको कार्य तमोर कोरिडोर सडक योजना कार्यालयले नै हेर्ने सूचना अधिकारी गाइँको भनाइ छ ।
मेची राजमार्गको झापा चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म सडक डिभिजन इलामको नियमन क्षेत्रधिकारमा रहेको छ । ताप्लेजुङस्थित सुकेटारदेखि लिङ्खिमको थिवासम्म भने तमोर कोरिडोर (सुभाङ खोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले हेर्ने अर्थात नियमन गर्ने गर्दछ । मंगलबार साँझको हावाहुरीले पाथीभरा पदमार्ग क्षेत्रमा पनि रुख ढालेको छ । हावाहुरीले ढालेका रुखका कारण पदमार्गमा रहेका विश्रामस्थल (पाटीपौवा) लगायतका संरचामा क्षति गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

Similar Posts