मैवाखोलाको आगामी आवको नीति:अनियमित र अराजक शिक्षक कारवाहीको दाहेरामा,बिद्यालय मर्ज सम्म गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मद्यपान,धुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने र बिद्यालयमा अनियमित तथा अराजक व्यवहार देखाउने शिक्षकलाई कारवाही गर्ने नीति ल्याएको छ ।
मैवाखोला गाउँपालिकाको बजेट अधिबेशनमा मंगलवार आगामी आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष विजयप्रका वनेमले थोरै बिद्यार्थी संख्या भएका पालिकाका बिद्यालयलाई एक आपसमा गाभ्ने देखि तह घटाउने सम्मको नीति प्रस्तुत गर्नु भएको । पालिकाले शिक्षकहरुको दरबन्दी मिलान गरी अपुग भएका बिद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्ने,पूर्वाधार अभाव भएका बिद्यालयहरुमा पूर्वाधार थप तथा व्यवस्थापन गर्ने,शिक्षालाई पहिलो प्राथमिकतामा राखी गाउँपालिकालाई शिक्षा क्षेत्रमा नमूना पालिकाको रुपमा विकास गर्ने घोषणा समेत पालिका अध्यक्ष वनेमले आगामी आवको नीतिमार्फत प्रतिबद्धता जनाउनु भएको छ ।
पालिकाले शिक्षाको गुणस्तर र नतिजामा सुधार ल्याई नन् ग्रेड उन्मुल बनाउने र सिकाई उपलब्धीका आधारमा वाल विकास देखि बिद्यालयको तहगत रुपमा उत्कृष्ट सिकाई उपलब्धी प्रदान गर्ने शिक्षकलाई सम्मान गर्ने नीति मैवाखोलालो घोषणा गरेको छ । पालिकाले ‘हाम्रो उत्पादन,हाम्रो डाक्टर’अभियान अन्र्तगत ५ बर्षमा एक डाक्टर उत्पादन गर्ने र उनीमार्फत पालिकामा कम्तिमा ५ बर्ष सेवा गर्ने प्रवन्धको घोषणा समेत पालिकाले गरेको छ । पालिकाले सबै वडामा रहेका अधुरा खेल मैदानलाई पूरा गर्ने देखि युवाहरुलाई प्राथमिकतामा राखी स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । बिद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न फुटबल,भलिबल,उसु,कराँते र तेक्वान्दोका खेल प्रशिक्षकको व्यवस्थापनलाई पालिकाले आगामी आवमा समेत निरन्तरता दिने भएको छ ।
निर्माणाधिन मदन भण्डारी स्मृति रंगशालालाई सम्पन्न गर्न प्रदेश र संघीय सरकारसंग पहल गर्ने नीति समेत पालिकाले लिने भएको छ । पालिकाले जटिल बाहेक सामान्य तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ढुङ्गेसाँघुमा फार्मेसी सेवा सञ्चालन गर्ने तथा जेष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमै स्वास्थ्यकर्मी पुगी स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई आगामी आवमा समेत निरन्तरता दिने पालिकाको घोषणा छ । पालिकाले एक घर पाँच योग र पाँच जडिबुटी कार्यक्रम सञ्चालन गर्ने नीति अख्तियार गरेको छ भने पालिकाका सबै स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर स्थापना र सञ्चालन गर्ने घोषणा गरेको छ । पालिकालाई २०८३ साल बैशाख भित्र वालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने मैवाखोलाको नीति छ । पालिकाले एक वडा,एक वाल उद्यान निर्माणलाई निरन्तरता दिने,बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउने समेत नीतिमार्फत प्रतिबद्धता जनाएको छ ।
पालिकाले तीनै तहका सरकारमार्फत सञ्चालित खानेपानी आयोजनालाई एकीकृत रुपमा सञ्चालन र नियमन गर्ने,एक घर एक धारा अभियान अन्तरगत सबै नागरिकका घरमा स्वच्छव खानेपानी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । पालिकाले सबै जातजाति तथा संस्कार र संस्कृतिको मौलिक बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय लिम्बू र शेर्पा भाषाको पठनपाठनलाई पालिकाले आगामी आवमा समेत निरन्तरता दिने भएको छ । पालिकाले गाउँपालिका भित्र रहेका मुख्य सडकको स्तरोन्नती,पालिकाको गौरवको रुपमा रहेको मैवाखोला चक्रपथको स्तरोन्नतीलाई निरन्तरता दिने घोषणा गरेको छ भने सडक,यातायात,पुलपुलेसा,झोलुङगे पुल निर्माणलाई समेत बिशेष प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ ।
पालिकाले व्यवस्थित बस्ति विकासको सुरुआत गर्ने,प्रशासकीय भवनलाई पूरा गरी सोहि भवनबाट सेवा प्रवाह सुरु गर्ने सहितका घोषणा गरेको छ । पालिकाले प्राङ्गारिक कृषि खेति प्रणालीलाई प्रोत्साहित गर्ने,जैविक बिषादी उत्पादन तथा बितरण गर्ने घोषणा समेत गरेको छ । पालिकाले निश्कृय र सञ्चालनमा नआएका सहकारी संस्थालाई खारेज गर्ने नीतिको घोषणा गरेको छ । पालिकाले दुध,मासु तथा अण्डामा पालिकालाई आत्मनिर्भर हुने प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । पालिकाले पालिकाका ६ वटै वडाहरुमा सिँचाई आयोजना छनौट गरी संघ तथा प्रदेश सरकारसंगको समन्वयमा पूरा गर्ने नीति समेत घोषणा गरेको छ । यो बर्ष ताप्लेजुङका ९ स्थानीय तहमध्ये मैवाखोलाले आगामी आवका लागि सबैभन्दा छिटो नीति र कार्यक्रम ल्याएको हो ।