ताप्लेजुङलाई जेठ २८ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिदैं

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २६ । ताप्लेजुङलाई जेठ २८ गते पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिने भएको छ ।
यहाँका ६१ वटा वडा हुँदै एक नगरपालिका र आठवटा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता भएको घोषणा गरिएसंगै यही २८ गते ताप्लेजुङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषणा गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायले जानकारी दिनुभयो । ताप्लेजुङमा यसबर्ष सिदिङ्वा गाउँपालिका पहिलो पूर्ण खोप पालिका घोषित भएको थियो । अन्तिममा जेठ २५ गते सिरिजङ्गा गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । नेपालमा ९९ प्रतिशत बालबालिकाहरु खोपको पहुँचमा भएपनि पूर्ण खोप कभरेज घट्दै जाने अवस्था हटाउन सरकारले स्थानीय स्तरबाटै खोप सेवाको योजना,कार्यान्वयन,अनुगमन र मूल्याङ्कनमा नेतृत्व र अपनत्व प्रदान गर्न खोज र खोप अभियान चलाउँदै आएको छ ।
नियमित खोपमा सबै खोपहरुको कभरेज सबै स्थानीय तह तथा जिल्लाहरुमा ९५ प्रतिशत भन्दा बढी पु¥याई यसलाई हरेक बर्ष अभियानको रुपमा अघि बढाउने सरकारी लक्ष्य निर्धारण भएको छ । सोहि अनुसार ताप्लेजुङका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता भएको घोषणा भएसंगै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । खोप अभियान अन्र्तगत जन्मेदेखि १५ महिना सम्मका बालबालिकाले हाल लिईरहेको खोपको सूची तयार गर्ने र १६ महिना देखि २३ महिना भित्रका बालबालिकालाई लक्षित गरी राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोपहरु प्रदान गर्नेगरी पूर्ण खोप सुनिश्चितता निर्धारण गरिन्छ ।
यसका लागि प्रत्येक बर्षको माघ–फागुन भित्र घरधुरी सर्बेक्षण गर्ने,सर्बेक्षणबाट प्राप्त प्रतिबेदनका आधारमा खोप अवस्थाको पहिचान र विश्लेषण गरी हाल र विगतको खोप रजिष्ट्रर भिडाई अद्यावधिक गरी छुट खोप दिलाउने कार्य गरिन्छ । चैत–बैशाख महिनालाई खोज र खोप अभियान सञ्चालन गरी छुट खोप दिलाउने तथा खोप तालिका अनुसारका सबै खोपहरुले बालबालिकालाई पूर्ण बनाउने लक्ष्यका साथ यो कार्यक्रमलाई हरेक वडा,स्थानीय तह र जिल्लाले बार्षिक नियमित तालिका अनुसार सञ्चालन गर्नुपर्ने हुन्छ ।