सिरिजंघा गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २५ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । सिरिजंघा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित कार्यक्रमकाबिच आइतबार गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिकाका आठ वटै वडामा रहेका लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिना सम्मका बालबालिकालाई आवश्यक सबै खोपको मात्रा लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूसहितका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे लगायतको उपस्थितिमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
कार्यक्रमका अवसरमा वडा हुँदै सिङ्गो गाउँपालिकालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्नमा योगदान पु¥याउने वडा कार्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेलाई गाउँपालिका अध्यक्ष चौहानसहितका जनप्रतिनिधिले सम्मानपत्र वितरण गर्नुभएको गाउँपालिकाका स्वास्थ्य संयोजक एवम् जनस्वास्थ्य निरीक्षक संजिव सिंहले जानकारी दिनुभयो । यसअघि जिल्लाका सिदिङ्वा, आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देनसहित विभिन्न पालिकाहरु पूर्णखोप सुनिश्चित घोषणा भइसकेका छन् । एक नगरपालिका र आठ गाउँपालिकासमेत नौ वटा स्थानीय तह रहेको जिल्लालाई नै यहि जेठ २८ गते बुधबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी रहेको छ ।