सुरुभयो प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव,छूर्पीको प्रवद्र्धन गर्न अथितिलाई छूर्पीकै माला !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सुरु भएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईको अध्यक्षतामा सुरु भएको महोत्सवको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङवोले महोत्सवको समुद्घाटन गर्नु भएको छ । कार्यक्रममा पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना),सिदिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,पालिकाका ७ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य,पूर्व जनप्रतिनिधि,सञ्चारकर्मी सहितको सहभागिता रहेको छ ।

महोत्सव स्थलमा याक तथा चौंरी प्रवद्र्धन कार्यक्रम अन्तरगत चौंरी प्रर्दशनी,चौंरीजन्य उत्पादन घीउ र छूर्पी,स्थानीय अल्लोको कपडाका स्टलहरु छन् भने स्थानीय जातिजातिका परिकार चखाउने खाद्य परिकारका स्टलहरु समेत रहेका छन् । जेठ १५ देखि १७ गतेसम्म चल्ने महोत्सवका कार्यक्रम अन्तरगत सिदिङ्वा धाम दर्शन तथा श्रिङ्ग ऋषिको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम समेत राखिएको छ । श्रिङग ऋषिको मूर्ति पालिका अध्यक्ष राईले आफ्नै व्यक्तिगत खर्चमा निर्माण गरी धाममा स्थापना गर्न लाग्नु भएको हो । सिदिङ्वा धाममा श्रिङ्ग ऋषिको कठोर तपश्या पछि उनै ऋषिले मागेको वर प्राप्त भएको धाममा रुपमा परिचित छ । मागेको वर पाउने जनश्रुति रहेको उक्त धाममा यो बेला ताप्लेजुङ बाहेक बिभिन्न जिल्लाबाट दर्शनार्थी आउन थालेका छन् ।

महोत्सवमा वडास्तरीय भलिबल,हाफ म्याराथन,डोरी तान्ने र छोलो सहितका प्रतियोगिता समेत सञ्चालन हुँदैछन् । महोत्सवस्थल थामडाँडामा साँस्कृतिक कार्यक्रम समेत हुनेगरी राष्ट्रिय तथा स्थानीय कलाकार समेत भेला हुँदैछन् । राजेशपायल राई देखि अन्य राष्ट्रिय तथा स्थानीय कलाकर्मीहरुले समेत महोत्सवमा आफ्नो कला प्रस्तुत गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवमा सहभागीहरुलाई स्थानीय उत्पादनको चिनारी र प्रवद्र्धन गराउने गरी चौंरी तथा गाईको छूर्पीको माला लगाईएको छ । पछिल्लो समय दर्शनार्थीहरुको लोकप्रिय धार्मिक स्थलको ख्याति कमाईरहेको सिदिङ्वा धामको प्रवद्र्धन तथा सिदिङ्वा गाउँपालिका क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । बिहीबारबाट सुरु भएको महोत्सव शनिवार सकिने छ ।

 

 

Similar Posts