एचपिएफमार्फत ताप्लेजुङमा ६६ शिक्षण संस्थाको भवन निर्माण,बहुआयामिक कार्यक्रम कोशीका २४ पालिकामा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १३ । लघु उद्यमशिलता र केहि बिद्यालयमा सिकाई सुधार कार्यक्रमलाई निरन्तरता दिदैं विगत ८ बर्षदेखि ताप्लेजुङमा कार्यरत ह्युमन प्राक्टिस फाउण्डेसन कोशीका अन्य तीन पहाडी जिल्लामा केन्द्रित हुने भएको छ ।
एचपिएफले मंगलवार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा बिद्यालयस्तरीय सामाजिक लेखा परीक्षण कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममार्फत उक्त कुरा बताएको हो । एचपिएफका जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठका अनुसार लघु उद्यमशिलता कार्यक्रमले भने निरन्तरता पाउने छ । यि बाहेक एचपिएफका अन्य कार्यक्रम भने अब पाँचथर,तेह्रथुम र धनकुटामा केन्द्रित हुने छ । पाँचथर,तेह्रथुम र धनकुटाका जिल्लाका बिभिन्न पालिकामा र धनकुटाको शहीदभूमि नगरपालिकामा कार्यक्रम केन्द्रित हुने एचपिएफले बताएको छ । एचपिएफले कोशी प्रदेशका ताप्लेजुङ सहित ४ जिल्लाका २४ स्थानीय तहका १ सय १९ वटा वडामा कार्यक्रम केन्द्रित गर्ने छ । त्यसमा तीन क्याम्पस सहित १ सय ३९ वटा शिक्षण संस्था समेटिने श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम अवधिमा ताप्लेजुङमा एचपिएफले ४ वटा शिक्षण संस्थाको भवन प्रवलीकरण सहित ६५ वटा बिद्यालयको भवन निर्माण गरेको जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकास्थित परमसिंहदेवी मावि निघुरादिनको भवन निर्माणाधिन अवस्थामा रहेको एचपिएफका जिल्ला कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । ताप्लेजुङमा पालिकातर्फ फुङलिङमा नगरपालिकामा आईटी एकेडेमी सहित १२ वटा,पाथीभरा याङवरकमा ८ वटा,मेरिङदेनमा ६ वटा,सिरिजङ्गामा ९ वटा,मैवाखोलामा ५ वटा,आठराई त्रिबेणीमा एक निमार्णाधिन सहित ८ वटा,फक्ताङलुङमा ७ वटा,मिक्वाखोलामा ५ वटा र सिदिङ्वामा ६ वटा शिक्षण संस्थाका भवन निर्माण भएका छन् । एचपिएफमार्फत ताप्लेजुङमा एक निर्माणधिन सहित ६६ वटा बिद्यालय भवन निर्माण,५८ वटा बिद्यालयमा बिद्यालय शिक्षा कार्यक्रम,एक निमार्णाधिन सहित ५२ वटा शौचालय भवन निर्माण र ९ वटा खानेपानी योजना पूरा भएका छन् ।
खानेपानीतर्फ मुहान संरक्षण गर्ने,सार्वजनिक धारा निर्माण गर्ने र बिद्यालयसम्मै धारा जडान गरी पानीको प्रवन्ध गर्ने कार्य समेत एचपिएफमार्फत भएका छन् । उसले बिद्यालयमा सूचना प्रविधि कक्ष,विज्ञान प्रयोगशाला,खेल मैदान,सिकाई सुधार,उद्यम विकास कार्यक्रम सहितका बहुपरियोजनाका कार्यक्रम सञ्चालन गर्नेगर्छ । ताप्लेजुङका ४६ वटा बिद्यालयमा जीवनउपयोगी सीप सिकाई कार्यक्रम समेतको सहजीकरण तथा व्यवस्थापन गरी अब उक्त कार्यको दायित्व सम्वन्धित बिद्यालयलाई सुम्पिएको एचपिएफले जनाएको छ । सिकाई सुधार कार्यक्रमको अवधि पूरा नभएका मयाम मावि फुरुम्बु,बालसुवोधिन मावि मेदिवुङ,सूर्यदेवी मावि सान्थाक्रा,सिनाम मावि सिनाम र परमसिंह देवी निघुरादिनमा सिकाई सुधार कार्यक्रमलाई सञ्चालन गरिने छ । यसअघि सिकाई सुधार कार्यक्रम सञ्चालन भइसकेका ताप्लेजुङका ५८ बिद्यालयमा समेत केहि समय सिकाई सुधार कार्यक्रममा संस्थाकोतर्फबाट सहजीकरण कायम रहने समेत श्रेष्ठले जानकारी दिनुभयो ।
एचपिएफले सिकाई सुधारको तीनबर्षे कार्यक्रम पूरा भएका ३३ वटा बिद्यालयमा लघु सहजीकरण गर्ने छ भने बाँकी २५ वटा बिद्यालयमा सिकाई सुधारका कार्यक्रमलाई महिनाभित्र पूरा गर्ने लक्ष्य लिएको छ । तीनबर्षे कार्यक्रम पूरा हुन बाँकी रहेका ५ वटा बिद्यालयमा भने सिकाई सुधारको कार्यक्रम कार्यान्वयनमा रहने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसबाहेक आर्थिक सशक्तीकरण अन्तरगत लघु उद्यम विकास भने कार्यान्वयनमा निरन्तरता पाउने छ । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले यहाँका ४ स्थानीय तहका ४ बिद्यालयमा पुगेर गरिएको बिद्यालय स्तरीय सामाजिक परीक्षण कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
आचार्यका अनुसार पत्रकार महासंघको समन्वयमा एचपिएफको कार्यक्षेत्र रहेका पाथीभरा याङवरकको चाक्सिबोटे मावि,फक्ताङलुङ गाउँपालिकाको आर्दश मावि खेजेनिम,मैवाखोला गाउँपालिकाको जनकल्याण मावि र फुङलिङ नगरपालिकाको भानुजन माविको सामाजिक परीक्षण गरिएको थियो । सामाजिक परीक्षणका क्रममा अधिकाँस बिद्यालयका अभिभावकहरुले एचपिएफको कार्यक्रम निकै प्रभावकारी रहेकोले कार्यक्रम निरन्तरताको माग गरेको आचार्यले बताउनुभयो । कार्यक्रममा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसहितको उपस्थिति थियो ।