नेकपा एस ताप्लेजुङको ११ औं जिल्ला अधिबेशन सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ९ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी(नेकपा एस)ताप्लेजुङको ११ औं जिल्ला अधिबेशन फुङलिङस्थित सामुदायिक भवनमा सुरु भएको छ ।
नेकपा एसका बरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले अधिबेशनको उद्घाटन गर्नु भएको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेकपा एस ताप्लेजुङका सचिव मोहन न्यौपानेका अनुसार अधिबेशनमा पार्टी संगठित सदस्यबाट चुनिएका,आयोजक कमिटी र जनवर्गीय संगठनसहितका गरी २ सय ५० प्रतिनिधि सहभागी छन् । अधिबेशन उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सचिव बलदेव चोधरी,पार्टीको निर्वाचन आयोग प्रमुख माधवप्रसाद पौडेल,स्थायी कमिटी सदस्य महेश रेग्मी,कोशी प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्का सहित प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु,केन्द्रीय सदस्यद्धय खेमबहादुर वनेम र नेताकुमारी सिवा समेत सहभागी हुनुहुन्छ ।
अधिबेशनको उद्घाटनसत्र पछि बन्दसत्र सुरु हुने छ । बन्दसत्र पछि निर्वाचन आयोग र पार्टीका नेताहरुको सहमतिमा अध्यक्ष मण्डल घोषणा हुने छ । अध्यक्ष मण्डलले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम सुरु गर्ने नेकपा एसले जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा पार्टीका जिल्ला उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङले स्वागत मन्तव्य राख्नु भएको छ । लामा भर्खरै सम्पन्न प्रदेश कमिटीको अधिबेशनमार्फत प्रदेश कमिटीको उपसचिवमा निर्वाचित हुनुभएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने सम्भावना रहेको नेताहरु आफैंले बताएका छन् । यसोगर्दा पार्टीका जिल्ला उपाध्यक्ष तथा मेरिङदेन गाउँपालिका उपाध्यक्ष श्रेङचोङवाङलाई अध्यक्ष बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको बुझिएको छ । तर नेताहरुले यसबारे शनिवारसम्म पर्खन आग्रह गरिरहेका छन् ।