सिरिजङ्गामा जेठ १८ पछि गोलिया निकासीमा प्रतिवन्ध

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले यही जेठ १८ गते देखि पालिका क्षेत्रमा गोलिया काठको निकासी तथा ढुवानीमा प्रतिवन्ध लगाएको छ ।

पालिका अध्यक्ष लालकृष्ण चौहानका अनुसार गोलिया कटान तथा घाटगद्दी गरेको भए सम्वन्धितले उक्त गोलिया १८ गते भित्रमा पालिका क्षेत्रबाट ढुवानी गरिसक्नुपर्ने छ । गोलिया कटान तथा निकासी गर्ने क्रममा सडक बिग्रने,भत्कने,खाल्डो पर्ने र पहिरो जाने जस्ता समस्या हुने पाइएको र सडक बिग्रदा खाद्यान्न र यात्रुवाहक सवारी साधनहरु समेतको आवागमन बन्द हुने अवस्था दर्शाउँदै पालिकाले जेठ १८ भन्दा उता अर्को सूचना जारी नभएसम्म पालिका क्षेत्रको सडक मार्ग हुँदै गोलिया निकासी बन्द गरिएको पालिकाले जनाएको छ ।

पालिकाले उक्त कार्यको निरागानी तथा सूचनाका लागि पालिकाका ८ वटै वडा कार्यालय र टोल विकास संस्थालाई आग्रह गरेको छ भने यसको जानकारी गोलिया निकासी गर्ने व्यवसायीलाई गराएको जनाएको छ ।

Similar Posts