नेकपा एस ताप्लेजुङको जिल्ला अधिबेशनमा २ सय ५० प्रतिनिधि,बरिष्ठ उपाध्यक्ष पाण्डे प्रमुख अतिथि

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ७ । जेठ ९ गतेबाट हुन गइरहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङको ११ औं अधिबेशनमा २ सय ५० जना प्रतिनिधि हुने भएका छन् ।

जिल्ला अधिबेशनका बारेमा जानकारी दिन नेकपा एस ताप्लेजुङले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पार्टीका जिल्ला सचिव मोहन न्यौपानेले जिल्ला सम्मेलन आयोजक कमिटी,पार्टी सदस्य संख्याको आधारमा चयन हुने प्रतिनिधि र जनवर्गीय संगठन सहित जिल्ला अधिबेशनमा २ सय ५० प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेताहरुले अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नु भएको छ । केन्द्रीय सदस्य खेमबहादुर वनेमले उद्घाटन सत्र र बन्दसत्र पछि निर्वाचन कार्यक्रममा जाने तर सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा एसको जिल्ला कमिटीमा ७ जनाको पदाधिकारी रहने व्यवस्था रहेको छ ।

पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष तथा मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङ सम्भावित अध्यक्षको उम्मेदवार बन्ने चर्चा चल्न थालेको छ । कतिपयले आरसी पोमूलाई पनि अध्यक्षको आकाँक्षीको रुपमा हेरेका छन् । पोमूले पत्रकार सम्मेलनमा केहि प्रतिक्रिया दिनु भएन । श्रेङचोङवाङ आफैंले भने नेतृत्वको बिषयमा जेठ १० गते सम्म धैर्य गरिदिन पत्रकार सम्मेलनमै सबैलाई आग्रह गर्नु भएको छ । जिल्ला सचिव न्यौपानेका अनुसार जिल्ला अधिबेशनको उद्घाटन पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गर्नुहुने छ ।

यसअघि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिबेशनको उद्घाटन गर्ने भनिएको थियो । नेपालको स्वास्थ्य समस्या सहितका कारणले बरिष्ठ उपाध्यक्ष पाण्डे प्रमुख अतिथि हुनुहुने नेकपा एसका नेताहरुले बताएका छन् । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य नीताकुमारी सिवा,नेकपा एसका अगुवा नेता नेत्र नेपाली,कोशी प्रदेश कमिटी सदस्यहरु,जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


 

Similar Posts