चार सय विद्यार्थीको आँखा परीक्षण

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ५ । ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ । मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो ।
मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सोमबार नारायण माविमा अध्ययनरत १५५ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । उक्त सङ्ख्यामध्ये ९५ जना छात्रा र ६० जना छात्र रहेको छन् । आँखा परीक्षणका क्रममा समस्या देखिएका नौ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको गाउँपाकिला अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
जिल्लास्थित नेपाल नेत्र ज्योति संघ, डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको समन्वय र गाउँपालिकाको आर्थिक व्यवस्थापनमा विद्यालयमै पुगेर विद्यार्थीको आँखा परीक्षण गरिएको हो । पालिकाका सबै विद्यालयमा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गरिने पनि गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्षेत्र कार्यकर्ता काजी थेबेसहित प्राविधिक जनशक्तिको संलग्नतामा विद्यार्थीको आँखा परीक्षण गरिएको हो ।
यस्तै आइतबार सिँवा माविमा अध्ययनरत करिव दुई सय पचास जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । पाथीभरा बहुमुखी क्याम्पसको सामुदायिक पहुँच कार्यक्रमअन्तर्गत विद्यालयमा शिविर आयोजना गरी विद्यार्थीको आँखा परीक्षण गरिएको हो । विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार करिव २५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र उपलब्ध अभिभावक समेतको आँखा परीक्षण गरिएको गौतमले जानकारी दिनुभयो ।
निःशुल्क आँखा परीक्षण तथा सामूहिक मनोसामाजिक मनोविमर्श कार्यक्रम आयोजना गरी सेवा प्रवाह गरिएको पाथीभरा क्याम्पस सञ्चालन समिति अध्यक्ष शिला इजमले जानकारी दिनुभयो । अध्यक्ष इजमका अनुसार नेपाल नेत्र ज्योति संघ, डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको सहयोगमा शिविर सञ्चालन गरिएको हो । सिँवामा पनि डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रकै क्षेत्र कार्यकर्ता थेबे लगायतका प्राविधिक जनशक्तिले आँखा परीक्षण सेवा प्रदान गर्नुभएको थियो ।
यता आँखा परीक्षण सेवासँगै मनोसामाजिक विमर्शसमेत गरिएको पाथीभरा बहुमुखी क्याम्पसले जनाएको छ । मनोसामाजिक विमर्श कार्यक्रममा मनोविमर्श प्रशिक्षक राजेन्द्र काफ्लेले सहजीकरण गर्नुभएको बताइएको छ । सदरमुकाम फुङ्लिङमा रहेको पाथीभरा बहुमुखी क्याम्पस जिल्लाको एकमात्र स्नातकोत्तर तहसम्म अध्ययन हुने क्याम्पस हो ।