छुटेको पढाई भरण गर्न फुङलिङका सामुदायिक बिद्यालयमा बर्षे बिदाको १३ दिन पढाई हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ४ । शिक्षक आन्दोलनको क्रममा पढाईमा परेको असर भरणका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाका बिद्यालयहरुमा बर्षे बिदाका १३ दिन पढाई सञ्चालन गर्ने सहमति बनेको छ ।
फुङलिङ नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनको अध्यक्षतामा आइतवार नगर शिक्षा समिति र नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापकको छलफल उक्त निश्कर्षमा पुगेको नगरपालिकाको सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहनु भएका सुनुवारका अनुसार आन्दोलनका क्रममा छुटेको पढाई भरणका लागि बर्षे बिदाको समयको १३ दिन पठनपाठन गर्ने सहमति बनेको छ ।
यसअघि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षक आन्दोलनका कारण छुटेको पढाई भरणका लागि बर्षे बिदाको ७ दिन पठनपाठन गराउने निर्णय गरिसकेको छ । फक्ताङलुङ गाउँपालिकाले छुटेको पढाई भरणका लागि शैक्षिक क्यालेण्डरमा भएको मिन पचासको बर्षे बिदालाई असार मसान्त सम्ममा घटाउने तथा दशैंतिहार पछिका सार्वजनिक बिदाका दिनमा समेत पढाई सञ्चालन गर्ने निर्णय लिईसकेको छ ।