प्रभावकारी बन्दै ताप्लेजुङ सिदिङ्वाको नमूना नर्सरी: बिरुवा लानेले प्राविधिक सल्लाह पनि पाउँछन्

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३ । किसानलाई प्रविधिसंगै अर्गानिक कृषि प्रणालीमा आवद्ध गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुरु गरेको नमूना नर्सरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पालिकाको केन्द्र साब्लाखुमा सञ्चालनमा आएको नमूना नसरीमार्फत दुईबर्षको अवधिमा तरकारी,फलफूल र फूलका करिव दुईलाख बिरुवा बिक्री भइसकेको पालिकाले जनाएको छ ।

नमूना नर्सरीमा प्याज,लसुन,खोसार्नी,टमाटर,गाँजर,बन्दाकोभी,फूलकोभी,मूला,साग,फर्सी,काँक्रा,चुकन्दर,कागति र सन्तोला सहितका दैनिक उपभोग्य तरकारीबालीका बिरुवा छन् । पालिकाको कृषि शाखाका सहायक पाँचौं सञ्जयकुमार धामीका अनुसार नर्सरीमा पुष्पका अनेकौं प्रजातिका बिरुवा समेत छन् भने संगै माछाका भूरा समेत उत्पादन हुने केन्द्रको रुपमा नर्सरीलाई विकास गर्दै लगिएको छ । पालिका अध्यक्ष मानबहादुर राईका अनुसार पालिकाले जग्गा भाडामा लिएर नर्सरी केन्द्र स्थापना गरेको हो ।‘निकै राम्रो भएको छ,नर्सरीबाट बिरुवा खरिद गरेर लैजानेले रोपणको तरिका समेत थाह पाउनु हुन्छ र अर्गानिक उत्पादनतर्फ उहाँहरुलाई प्रेरित गरिन्छ’नमूना नर्सरीको प्रभावकारिताप्रति प्रसन्न देखिनु भएका पालिका अध्यक्ष राईले भन्नुभयो ।

पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)अर्गानिक खेतिप्रति किसानलाई प्रोत्साहित गर्न र पालिकाकै नर्सरीमा उत्पादित बिरुवा सुफत मूल्यमा किसानलाई उपलब्ध गराउन नमूना कृषि नर्सरी साँच्चै नमूना बन्दै गएको बताउँनुहुन्छ । उहाँका अनुसार किसानले पालिकाको नर्सरीबाट फगत बिरुवा मात्र पाउँदैनन्,बिरुवा रोपण गर्ने तरिका देखि त्यसको सम्भार र व्यवस्थापन गर्ने प्राविधिक सल्लाहसमेत पाउँनेछन् । पालिका अध्यक्ष राईका अनुसार नमूना नर्सरीको परिकल्पना भने पालिकाको यसअघिका कृषि शाखा प्रमुख विकास थेबेले गर्नु भएको हो । थेबे थप अध्ययनका लागि पालिकाबाट बाहिरिएपनि उहाँलाई पालिकाले महिनामा एकदिन नर्सरी क्षेत्रमा आएर यसको व्यवस्थापनमा सल्लाह दिन आग्रह गरेको पालिका अध्यक्ष राईले बताउनुभयो ।

नमूना नर्सरीको हेरचाहका लागि त्यहाँ नर्सरी हेरालु पनि राखिएको छ । पालिकाको पशु स्वास्थ्य शाखामा कार्यरत सञ्जय श्रेष्ठ किसानलाई बीउबिजनको सट्टा बिरुवा नै उपलब्ध गराउने गरी सुरु भएको नर्सरीबाट किसानका गुनासा कम हुन थालेको बताउँनुहुन्छ ।‘कसैले पालिकाबाट लगेको बीउँ उम्रिएन भन्ने गुनासो गर्नु हुन्थ्यो,हामी यहाँ रोप्ने,मल लगाउने,गोड्ने र त्यसको सम्भार गर्ने तरिका समेत सिकाएर बिरुवा बितरण गर्छौं’श्रेष्ठले भन्नुभयो । नर्सरीमा लगाएको प्याज एउटै डेढ किलोग्राम वजन सम्मको उत्पादन भएपछि किसानमा पनि ‘गर्दा हुने रहेछ’भन्ने भाष्य निर्माण हुन थालेको श्रेष्ठले बताउनुभयो ।

नमूना नर्सरीमा कुनैपनि बिषादी लगाईदैंन । नर्सरीमा स्थानीय किसानका गोठ तथा भकारोमा बनेको गोबरमल खरिद गर्ने,पशुचौपायाको पिसाव संकलन गरी लगाउने जस्ता कार्य गरिन्छ । यसले किसानको गोबरमलसम्म बिक्री हुन थालेको र किसान आफैंलाई पनि रसायनिक बिषादीको साटो जैविक मल प्रयोगमा समेत चेतना पुगेको पालिकाको कृषि शाखाका प्रमुख सहायक पाँचौं धामीले जानकारी दिनुभयो । पालिकाले पालिकाका ७ वटै वडामा अर्गानिक खेति केन्द्रित माटो सुहाउँदो तरकारी तथा फलफूलका बिरुवाका रोपणका लागि प्रोत्साहित गरिरहेको छ । पालिकाले फलफूलका बिरुवाको व्यावसायिक खेतिका लागि कम्तिमा एक व्यक्ति वा फार्मलाई कम्तिमा सय बिरुवा अनिवार्य रोप्नुपर्नेगरी सुफत मूल्यमा फलफूलका बिरुवा उपलब्ध गराउँछ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार कार्यपालिकाको निर्णयले पालिकाको नर्सरीमा उत्पादन भएका बिरुवाको न्यूनतम् मूल्य निर्धारण गरिएको छ । किसानलाई बाहिरी जिल्लाबाट तरकारी,फलफूल र फूलका बिरुवा आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी बिरुवा रोपणका लागि पालिकाकै प्राविधिकबाट सल्लाह समेत दिनेगरी सुरु भएको नर्सरी निकै प्रभावकारी बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत विकको बुझाई छ । नर्सरीमा पुगेका किसानलाई पालिकाका कृषि प्राविधिकहरुले बिरुवा रोपण,काँटछाँट,पानी र मल लगाउँदाको अवस्था,हेरचाह र संरक्षणका बारेमा सल्लाह दिन्छन् । प्राविधिकको सल्लाह अनुसरण गर्दै अर्गानिक तवरबाट खेति अघि बढाउने हो भने उत्पादन र उत्पादकत्व बृद्धि हुनुका साथै भान्छा समेत स्वस्थ्यकर हुने पालिकाका कृषि प्राविधिहरु बताउँछन् ।

 

Similar Posts