ताप्लेजुङका स्थानीय तहमा साढे ३० करोड बढी बेरुजु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २ । ताप्लेजुङका ९ स्थानीय तहमा साढे ३० करोड बढी बेरुजु रहेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयको ६२ औं बार्षिक लेखा परीक्षण प्रतिबेदन अनुसार ताप्लेजुङका ९ स्थानीय तहको बेरुजु ३० करोड ५९ लाख ६६ हजार रुपैयाँ रहेको देखिएको छ ।
लेखा परीक्षण रकमलाई आधार मानेर बेरुजु प्रतिशत निर्धारण गर्ने गरिन्छ । ताप्लेजुङमा मैवाखोला गाउँपालिकाको बेरुजु ६ करोड ९९ लाख ६० हजार रुपैयाँ रहेको छ । मैवाखोलाको ८२ करोड ८८ लाख ६ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो । यस्तै फक्ताङलुङ गाउँपालिकाको बेरुजु ४ करोड ८९ लाख ४३ हजार रुपैयाँ देखिएको छ । फक्ताङलुङको ९० करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको लेखा परीक्षण भएको थियो । मेरिङदेन गाउँपालिकाको बेरुजु ४ करोड ६२ लाख ६ हजार रुपैयाँ देखिएको छ । उक्त पालिकाको ९३ करोड २५ लाख ७६ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो । ७० करोड ७७ लाख ३१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको मिक्वाखोला गाउँपालिकाको बेरुजु ४ करोड ३ लाख ६८ हजार रुपैयाँ देखिएको छ ।
१ अर्ब ३२ करोड ५१ लाख २६ हजार रुपैयाँको लेखा परीक्षण भएको फुङलिङ नगरपालिकाको बेरुजु २ करोड ९१ लाख १८ हजार रुपैयाँ देखिएको छ । १ अर्ब २ करोड ३० लाख २ हजार रुपैयाँको लेखा परीक्षण गरिएको आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २ करोड ६३ लाख ४६ हजार रुपैयाँ देखिएको छ । ८१ करोड ६५ लाख २४ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको सिदिङ्वा गाउँपालिकाको बेरुजु २ करोड २७ लाख ४८ हजार रुपैयाँ देखिएको छ । १ अर्ब ८ करोड ६६ लाख ६९ हजार रुपैयाँको लेखा परीक्षण गरिएको सिरिजङ्गा गाउँपालिकाको बेरुजु १ करोड १७ लाख १० हजार रुपैयाँ रहेको छ ।
प्रतिशतका हिसावले सिरिजङ्गा गाउँपालिकाको बेरुजु जिल्लाकै सबैभन्दा कम हो । ८८ करोड ९३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १ करोड ५ लाख ६७ हजार रुपैयाँ रहेको छ । मलेपको ६२ औं बार्षिक लेखा परीक्षणलाई आधार मान्दा ताप्लेजुङका स्थानीय तहमा बेरुजु रकम कम हुने पालिका भने पाथीभरा याङवरक हो । तर,लेखा परीक्षण रकमको आधारमा बेरुजु प्रतिशत निर्धारण हुने भएकोले प्रतिशतलाई नै मापनको मुख्य सूचक मानिन्छ ।