ढिलोमा २०८३ भदौ भित्रमा पालिकालाई फुसको छानोमुक्त बनाउने आठराई त्रिबेणीको घोषणा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले बढीमा २०८३ साल भदौ भित्रमा पालिकालाई फुसको छानो मुक्त बनाउने घोषणा गरेको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले चालु आर्थिक बर्षमै यो कार्य पूरा गर्ने प्रकृयामा पालिका लागि परेको जानकारी दिदैं यो अवधिमा सम्भव नभए २०८३ सालको भदौ महिना पछि पालिका पूर्ण रुपले फुसको छानो मुक्त पालिका बन्ने घोषणा गर्नु भएको छ । पालिकाले फुसको छानो बिस्थापन सम्वन्धी कार्यविधि बनाएर फुसको छानो बिस्थापन कार्यमा सहभागी हुन चाहनेले सम्वन्धित वडामार्फत आबेदन गर्न आवह्वान गरेको थियो ।

पालिका अध्यक्ष पोमूका अनुसार फुसको छानो बिस्थापन कार्यक्रमको वडागत तथ्याङ्क संकलन भएको छ । तथ्याङ्क अनुसार पालिकाभरीमा २ सय ८४ घरधुरी फुसको छानो बिस्थापन कार्यमा सहभागी हुन सक्ने देखिएको छ । पालिकाका अनुसार वडा नं १ निघुरादिनमा ६८,वडा नं २ फुलवारीमा १ सय,वडा नं ३ हाङपाङमा ३८,वडा नं ४ चाँगेमा २९ र वडा नं ५ चाँगेमा ४९ घरधुरी फुसको छानो बिस्थापन कार्यक्रममा सहभागी हुने देखिएको छ ।

वडागत तथ्याङ्कलाई विश्लेषण गरेर अन्तिम रुप दिएपछि पालिकाले सम्भव हुने भए चालु बर्षमै र नभए २०८३ सालको भदौ महिना भित्रमा पालिकालाई फुसको छानो मुक्त पालिका बनाउने पालिका अध्यक्ष पोमूले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । गत असार १० गते चालु आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष पोमूले फुसको छाना बिस्थापन कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउने घोषणा गर्नु भएको थियो । उक्त घोषणाको कार्यान्वयनका लागि पालिकाले कार्यविधि बनाई कार्यक्रम अघि बढाएको छ ।

Similar Posts